चिनियाँ घाँसको परीक्षण सुरु 

आश्विन १७, २०७६ | रसुवा

रसुवाको हिमाली क्षेत्रमा चिनियाँ घाँसको परीक्षण थालिएको छ । तिब्बतमा उत्पादन हुने घाँसको बीउ ल्याएर परीक्षण थालिएको हो । हिमाली क्षेत्रमा घाँस परीक्षण गर्नका लागि नेपाल र चीन सरकारबीच सन् २०१६ सहमति भएको थियो । सोही सहमति अनुसार अहिले परीक्षण गर्न थालिएको हो ।

घाँसको अनुसन्धानमा समन्वय गर्ने जिम्मा चरन तथा घाँसेबाली अनुसन्धान केन्द्रले रसुवाले पाएको छ । जिल्लाको हिमाली क्षेत्रमा घाँस उत्पादन वृद्धि गर्ने उद्देश्यले परीक्षण थालिएको चरन तथा घाँसेबाली अनुसन्धान केन्द्रका प्रमुख पूर्णभद्र चापागाँईले बताउनुभयो ।

सदरमुकाम धुन्चे, चन्दनबारी र लाङटाङको क्याङजिनमा घाँसको परीक्षण थालिएको छ । जै घाँस, राइ घाँस, कक्सफुड, अल्फा–अल्फा लगायतका १८ वटा प्रजातीका घाँसको परीक्षण थालिएको हो । परीक्षण थालिएको १८ वटा मध्य ९ वटा जै घाँसको जात रहेको छ ।

बाख्रा, चौरी र भेडा पाल्ने कृषकलाई लक्षित गर्दै त्यस क्षेत्रमा घाँसको परीक्षण थालिएको चापागाँईले बताउनुभयो । घाँसको परीक्षणका लागि चीनबाट दुई जना विज्ञ नेपाल आएका छन् । परीक्षणसँगै विज्ञहरुले किसानलाई तालिम पनि दिने केन्द्रले जनाएको छ ।

सन् २०१९ को मार्चबाट सुरु भएको परीक्षण २०२१ को मार्चसम्म चल्ने छ । परीक्षण थालिएका १८ मध्ये सो क्षेत्रको वातावरणमा हुर्कन सक्ने जातका बीउ आगामी वर्षबाट पुन: कृषको बारीमा थप परीक्षण गर्ने उहाँले बताउनुभयो । 


प्रतिक्रिया