चाडपर्वलाई लक्षित गरी बनाइएका मदिरा नष्ट

आश्विन १७, २०७६ | सिरहा

चाडपर्वलाई लक्षित गरी अवैद्य रुपमा तयारी गरिएका घरेलु मदिरा सिरहा प्रहरीले नष्ट गर्न सुरु गरेको छ । रसायनिक मल, चप्पल, जुत्तालाई कुहायर बनाईने घरेलु मदिरा सेवनले मानव स्वास्थ्यमा असर पुर्‍याउने र त्यही सेवनबाट सुरक्षामा असर पुग्ने भएकाले प्रहरीले नष्ट गर्न सुरु गरेको हो ।

चाडपर्वमा अत्यधिक मात्रामा गाउँघरमा लुकाईछुपाई त्यस्ता घरेलु मदिरा उत्पादन र बिक्री वितरण हुने भएकाले प्रहरीले कडाई गरेको हो । सिरहाका विभिन्न गाउँघरमा मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ र तयारी घरेलु मदिरा नष्ट गरेको हो ।

प्रहरीले  सिरहाको गोलबजार नगरपालिका ६ का रामप्रसाद साह सुडी र कुसुमी साहको घरबाट अवैद्य घरेलु मदिरा बनाउन प्रयोग गरिने ४ हजार लिटर कच्चा पदार्थ र ५० लिटर तयारी मदिरा नष्ट गरेको छ । सोही दिन प्रहरीले लिहान नगरपालिका ४ र औरही गाउँपालिका ५ स्थित अवैद्य मदिरा भट्टीबाट ४ हजार लिटर कच्चा पदार्थ र ७० लिटर तयारी मदिरा नष्ट गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाको तथ्यांक अनुसार घरेलु मदिरा नष्ट अभियान अन्तर्गत जिल्लाका विभिन्न स्थानबाट असोज १७ गतेसम्म ४ हजार १ सय ९५ लिटर तयारी घरेलु मदिरा र २० हजार ७ सय १३ लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ नष्ट गरेको छ ।

प्रहरीका अनुसार विशाक्त घरेलु मदिरा सेवनकैं कारण दुई वर्षअघि सिरहाका २ जनाको मृत्यु भएको थियो । लुकीछिपी बिक्री वितरण भइरहेको घरेलु मदिराका कारण गाउँघरमा घरेलु हिंसाका घट्नामा वृद्धि भइरहेको अधिकारकर्मीहरुको भनाइ छ । ‘घरेलु हिंसा बढाउने एउटा कारक तत्वमा घरेलु मदिरा पनि हो’ अधिकारकर्मी राजकुमार राउत कुर्मी भन्छन् ‘एकातिर यसको सेवनले परिवार र समाजमा कलह निम्त्याएको छ भने अर्कोतर्फ यसले स्वास्थ्यलाई प्रत्यक्ष असर पुर्‍याइरहेको छ । यसको उत्पादन र बिक्रीवितरणमा कडाई गर्नु आवश्यक छ ।’

सिरहाका प्रहरी प्रमुख एसपी उमाप्रसाद चतुर्वेदीले गाउँघरमा विशेषगरी अझ चाडपर्वलाई लक्षित गरी लुकीछिपी घरेलु मदिरा उत्पादन हुने गरेकाले यसको उत्पादन र बिक्रीवितरणमा कडाइ गरिएको बताउनुभयो । मानव स्वास्थ्यलाई असर पुर्‍याउने र यसको सेवनबाट सुरक्षा चुनौती समेत थपिने भएकाले उत्पादनमा र बिक्री वितरणमा कडाई गरिएको उहाँले जानकारी दिनुभयो । 


प्रतिक्रिया