गत वर्ष १७ अर्ब ८१ करोडको पशु बीमा 

आश्विन २२, २०७६ | काठमाडौं

पछिल्लो समय पशु बीमा गर्ने कृषकको संख्या बढ्दै गएको छ । पशु बीमा बारेको चेतनास्तरमा आएको वृद्धिसँगै बीमा गर्ने पशुपालक कृषकको संख्या बढ्दै गएको हो ।

पशुसेवा विभागले गत आर्थिक वर्षमा झण्डै १८ अर्ब रुपैयाँ भन्दा बढी रकम पशु बीमा कार्यक्रममा खर्च गरेको छ । गत आर्थिक वर्ष २०७५/७६ को उपलब्धी विवरण सार्वजनिक गर्दै विभागले १७ अर्ब ८१ करोड रुपैयाँ बराबरको पशु बीमा गरिएको जनाएको छ ।

बीमा प्रिमियममा ७५ प्रतिशत अनुदान अन्तर्गत, कृषि क्षेत्रको कुल बीमित रकम १८ अर्ब ६८ करोड रुपैयाँ मध्ये पशु सेवा क्षेत्रमा मात्रै ९५ दशमलव ३६ प्रतिशत अर्थात १७ अर्ब ८१ करोड रुपैयाँ बराबरको पशु बीमा गरिएको विभागले जनाएको छ । 

पशुपन्छी तथा मत्स्य बीमा प्रिमियममा दिंदै आएको ७५ प्रतिशत अनुदान बापत गत आर्थिक वर्षमा ७७ करोड ८९ लाख ८४ हजार रुपैयाँ भुक्तान गरिएको विभागले जनाएको छ । गत आर्थिक वर्षमा कुल ४४ लाख ६३ हजार वटा पन्छी र २ लाख ४४ हजार वटा पशुको बीमा गरिएको विभागको तथ्याङक छ ।

यस्तै, ४ सय ८७ माछापालक कृषकले पनि माछाको बीमा गरेको विभागले जनाएको छ । यसबाट कुल ९७ हजार पशुपालक किसान लाभान्वित भएको विभागको तथ्याङक छ । 

विभागले आर्थिक वर्ष २०७४/७५ मा १३ अर्ब २२ करोड रुपैयाँ मध्ये १२ अर्ब ६० करोड रुपैयाँ बराबरको पशु बीमा गरेको विभागले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७३/७४ मा कृषि क्षेत्रको कुल बीमित रकम ९ अर्ब २४ करोड मध्ये ८ अर्ब ४६ करोड रुपैयाँ पशु बीमामा खर्च भएको विभागको तथ्याङक छ ।


प्रतिक्रिया