तराई मधेस समृद्धि कार्यक्रममा रुपन्देहीका १६ योजना छनोट 

आश्विन २४, २०७६ | बुटवल,

तराई मधेस समृद्धि कार्यक्रम अन्तर्गत रुपन्देहीमा १६ वटा योजना छनोट भएका छन् । शिक्षा, स्वास्थ्य, पूर्वाधार निर्माण, कृषि र सिंचाईलाई प्राथमिकतामा राख्दै जिल्लाका ११ वटा स्थानीय तहमा १६ वटा योजना छनोट भएका हुन् । जसमा करीब ६ करोड रुपैयाँ बराबरका योजना छन् ।

बुटवल उप–महानगरपालिकासँगै ५ वटा नगरपालिका र ५ वटा गाउँपालिका गरी ११ वटा स्थानीय तहमा १६ वटा योजना छनोट भएका छन् । छनोट भएका प्रत्येक योजनामा सम्बन्धित स्थानीय तहले पनि कम्तीमा १० प्रतिशत थप लागत सहभागिता जनाउनु पर्नेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मानव विकास सूचकाङ्कमा तुलनात्मक रुपमा पछि परेका तराई–मधेसका स्थानीय तहमा भौतिक पूर्वाधार लगायत विकासका कार्यक्रमलाई एकीकृत रुपमा सञ्चालन गर्ने गर्छ् ।

तराई मधेस समृद्धि कार्यक्रमका निर्देशक रामहरि शर्माले २२ जिल्लाबाट माग भएर आएका योजनाहरुमध्ये प्राथमिकताको आधारमा ४ सय १९ वटा योजना छनोट गरिएको बताउनुभयो । यस कार्यक्रमका लागि सरकारले चालू आर्थिक वर्षमा १ अर्ब ६० करोड बजेट विनियोजन गरिएको छ । 


प्रतिक्रिया