चिनिँया राष्ट्रपति सी २ दिने राजकीय भ्रमणका लागि आज आउनुहुँदै

रेडियो कान्तिपुर संवाददाता

आश्विन २५, २०७६ | काठमाडौं

काठमाडौँ - असोज २५ गते । जनवादी गणतन्त्र चीनका राष्ट्रपति सीले चिनफिङ दुईदिने नेपाल भ्रमणका क्रममा शनिवार काठमाडौँ आउँदै हुनुहुन्छ । विशेष विमानमार्फत उहाँ नेपाल आउनु हुँदा त्रिभुवन विमानस्थलमा उहाँलाई उच्च सम्मानका साथ स्वागत गरिनेछ । उहाँकै स्वागत र सुरक्षाका दृष्टिले करिब एक घण्टा विमानस्थलको उडान रोकिनेछ ।

राष्ट्रपति सी अपराह्न राष्ट्रपति भवन शीतल निवास पुग्नुहुनेछ । शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति सीको विशेष स्वागत गर्नुहुनेछ । आफ्ना समकक्षी सीसँग राष्ट्रपति भण्डारीको शिष्टाचार भेटवार्ता हुने कार्यक्रम छ । शनिबार नै राष्ट्रपति भण्डारीले चीनका राष्ट्रपति सीको स्वागतमा रात्रिभोजको आयोजना गर्नुहुनेछ ।

आइतबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति सीसँग विशेष भेटवार्ता गर्नुहुनेछ । सोही अवसरमा राष्ट्रपति सी र प्रधानमन्त्री ओलीको उपस्थितिमा नेपाल चीनबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । त्यस्तै विभिन्न राजनीतिक दलका उच्च नेताले राष्ट्रपति सीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनका राष्ट्रपति सी आइतबार स्वदेश फिर्ता हुने कार्यक्रम छ । उहाँ आफ्नो विशेष विमानबाट स्वदेश फिर्नुहुनेछ । नेपालमा रहँदा उहाँलाई राजकीय सम्मान प्रदान गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ । “उच्च ‘भीभीआईपी’ पाहुना आउँदै हुनुहुन्छ”, परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौडेलले भन्नुभयो, “उहाँको भ्रमणलाई सफल र मर्यादित बनाउन मन्त्रालय सक्रिय रहेको छ । ”

उहाँका अनुसार मन्त्रालयले सरकारी तवरमा गर्नुपर्ने सबै तयारी पूरा गरेको छ । “हामी पूर्ण तयारी अवस्थामा छौँ, राष्ट्रपति सीको भ्रमणका क्रममा नेपालका तर्फबाट पेस हुने कार्यसूचीमा मन्त्रालयको उत्तरपूर्वी एसिया महाशाखाले जिम्मेवारी निर्वाह गरेको छ”, पौडेलले स्पष्ट पार्नुभयो । महाशाखाका प्रमुख एवं सहसचिव कालीप्रसाद पोखरेलले समग्र कार्यसूचीमा मन्त्रालयले तयारी गरेको जानकारी दिनुभयो ।

सुरक्षा तथा अन्य व्यवस्थापनमा खटिनुभएका सहसचिव कुमारराज खरेलले सीको स्वागतका लागि मन्त्रालयले कडा मेहनत गरिरहेको जानकारी दिनुभयो । “उच्च स्तरको राजनीतिक भ्रमण भएकाले हामी हरेक तवरबाट उत्कृष्ट बनाउन लागिपरेका छौँ,” उहाँले स्पष्ट पार्नुभयो ।

सम्बन्धमा उचाइ थप्ने विश्वास

गोरखापत्र दैनिकमा शुक्रबार प्रकाशित विशेष आलेखमा चीनका राष्ट्रपति सीले चीन र नेपाल एकआपसमा सम्मान र विश्वास गर्ने असल मित्र भएको स्पष्ट पार्नुभएको छ । उहाँका अनुसार शान्तिपूर्ण सहअस्तित्वका पाँचवटा सिद्धान्तका आधारमा दुवै पक्षले सफलतापूर्वक दुई देशबीचको सीमालाई रेखाङ्कित गरी हिमालयलाई दुई देशबीचको बलियो स्तम्भ बनाएका छन् ।

दुवै पक्षले एक–अर्काको मुख्य चासोको विषयलाई दृढताका साथ समर्थन गर्ने सीले भन्नुभएको छ । त्यस्तै, उहाँले नेपाल चीन नीतिमा अडिग रहेको छ, त्यसको दृढताका साथ पालना गरेको छ र कुनै पनि शक्तिलाई नेपालको भूमि प्रयोग गरी चीनविरोधी गतिविधि सञ्चालन गर्न नदिएको भन्दै राष्ट्रपति सीले उच्च प्रशंसा गर्नुभएको छ । चीनले पनि राष्ट्रिय सार्वभौमिकता, स्वतन्त्रता, देशको अखण्डताको रक्षा गर्न र देशको अवस्थाअनुरूप विकास मार्ग अपनाउन नेपाललाई दृढतापूर्वक समर्थन गरेको जनाउनुभएको छ ।

राष्ट्रपति सीले विशेष आलेखमा चीन र नेपाल आपसी लाभ र हितका सहयोगका लागि असल साझेदार भएको प्रष्ट्याउनुभएको छ । “दक्षिण एसियामा नेपाल चीनको व्यापार तथा विकासको महìवपूर्ण साझेदार हो”, उहाँले लेख्नुभएको छ, “गतवर्षमा द्विपक्षीय व्यापार परिमाण एक÷एक अर्ब अमेरिकी डलर पुगेको थियो । ” उहाँका अनुसार चीनले नेपालमा ३० करोड अमेरिकी डलरभन्दा बढी लगानी गरेको थियो । नेपालले ‘बेल्ट एन्ड रोड’ पहलको निर्माणमा सक्रियताका साथ भाग लिइरहेको छ र राजमार्ग निर्माण तथा स्तरोन्नति, बन्दरगाह, विमानस्थल, विद्युत् केन्द्रलगायत भौतिक पूर्वाधारको निर्माणमा चीनसँग सहकार्य गर्दैछ । यसरी हिमालय वारिपारिको कनेक्टिभिटी नेटवर्कको निर्माण विस्तार हुँदैछ, जसबाट दुवै देश मात्र होइन, सम्पूर्ण क्षेत्र नै लाभान्वित हुनेछ ।

पहिलो गन्तव्य नेपाल

चीन र नेपाल एकअर्काबाट सिक्ने असल छिमेकी हुन् । लुम्बिनीमा चीनले बनाएको चिनियाँ बौद्ध मन्दिर चीन र नेपालबीचको धार्मिक र

सांस्कृतिक आदानप्रदानको प्रतीक बनेको उहाँले दृष्टान्त प्रस्तुत गर्नुभएको छ । दक्षिण एसियामा चिनियाँ नागरिकको छनोटको पहिलो गन्तव्य देश नेपाल हो । हाल प्रत्येक हप्तामा दुई देशबीचका लगभग ६० उडान छन् ।

हरेक वर्षमा तीन लाखभन्दा बढी व्यक्तिले एकअर्काको देश भ्रमण गर्दछन् । हाम्रा दुई देशबीच ११ जोडी भगिनी सहर बनिसकेका छन् । दिन प्रतिदिन बढ्दो आदानप्रदानले दुई देशका जनताबीचको समझदारी बढाउनुका साथै दुई देशको विकास र प्रगतिमा प्रेरक शक्ति थपेका छन् ।

राष्ट्रपति सीले चीन र नेपाल एकअर्कालाई सहयोग गर्ने असल दाजुभाइ भनेर सम्बोधन गर्नुभएको छ । उहाँको आलेख अनुसार सन् २००८ मा चीनको सछ्वान प्रान्तको वेनछ्वानमा विनाशकारी भूकम्प गएपछि नेपाल सरकार र नेपाली जनताले सक्रियताका साथ पैसा र सामग्रीहरू प्रदान गरी चीनको भूकम्प राहत कार्यमा सहयोग पु¥याएका थिए । त्यसैगरी सन् २०१५ मा नेपालमा महाभूकम्प गएपछि चिनियाँ सरकार र जनताले तुरुन्तै ठूलो मात्रामा उद्धार कार्य प्रारम्भ गरी भूकम्पपश्चात्को पुनःनिर्माणमा पनि सहयोग पु¥याएका थिए । यी चीन र नेपालबीच रहँदै आएको भाइचाराका उत्कृष्ट उदाहरण भएको उहाँको ठभ्याइ छ ।

लक्ष्य प्राप्तिमा दृढ

वर्तमानमा नेपाल सरकार र जनता ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यप्राप्तिका लागि अघि बढिरहेका छन् भने चिनियाँ सरकार र जनता ‘दुईवटा सय वर्ष’ लक्ष्यप्राप्तिका लागि अगाडि बढिरहेका छन् । चिनियाँ र नेपाली जनताको सपना र भाग्यसँगै जोडिएको हुँदा यस युगमा हामी दुई देशले आपसी सहयोगलाई सुदृढ पार्दै उज्ज्वल भविष्यका लागि संयुक्त प्रयास गर्नुपर्दछ । एकसाथ रही हामीले गर्नुपर्ने कामहरू यी हुन् भनेर औँल्याउनुभएको छ ।

त्यस्तै उहाँले व्यावहारिक सहयोगको विस्तार गर्नु र दुवै पक्षले हिमालय वारिपारिको बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माणलाई सक्रिय रूपमा अगाडि बढाउनु पर्दछ ।

चीनले चिनियाँ उद्यमीहरूलाई नेपालमा मुख्यतः व्यापार र लगानी, पुनःनिर्माण, ऊर्जा, पर्यटन यी चार क्षेत्रमा लगानी गर्न प्रेरित गरेको उल्लेख गर्नुभएको छ । “दोस्रो चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा भाग लिई नेपालका विशिष्ट उत्पादनहरूलाई चीनमा निर्यात गर्न चीन नेपाललाई स्वागत गर्दछ”, उहाँले भन्नुभएको छ, “चीनले नेपाललाई पुनःनिर्माणका लागि सहयोगलाई निरन्तरता दिनेछ र नेपाली जनताको जीवनस्तर उकास्न सकेसम्म सहयोग प्रदान गर्नेछ । ”

ऐतिहासिक अवसर

चीनको पिपुल्स डेली पत्रिकालाई अन्तर्वार्ता दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले शताब्दीऔँदेखि नेपाल र चीनले सुमधुर सम्बन्ध कायम राख्दै आएको बताउनुभएको छ । यो सम्बन्ध औपचारिक सम्बन्ध स्थापना हुनुभन्दा धेरै अगाडिदेखिकै रहेको उहाँले स्पष्ट पार्नुभएको छ । जसमा बहुआयामिक रूपमा आर्थिक, सामाजिक सांस्कृतिक र जनसम्बन्धको तहको कूटनीतिक विस्तार भने औपचारिक सम्बन्ध कायम भएपछि भएको राष्ट्रपति भण्डारीले उल्लेख गर्नुभएको छ ।

“हिमालय पर्वतको भौगोलिक अप्ठेरोपनमा पनि हामी दुई देशको सम्बन्ध सुमधुर र समन्वयात्मक रहेको छ”, भण्डारीले अन्तर्वार्तामा भन्नुभएको छ, “चीनले सधँै नेपालको सार्वभौमिकता, भौगोलिक एकता र राजनीतिक स्वतन्त्रताको द्विपक्षीय सम्बन्धका सिद्धान्तका आधारमा सधँै सम्मान गरेको छ । ”

उहाँले राष्ट्रपति सीको नेपाल भ्रमणले नेपाल चीनबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ । लामो समयको अन्तरालमा हुन गइरहेको यस भ्रमणलाई नेपालले अत्यधिक महव दिएको प्रष्ट्याउनुभएको छ । “यो भ्रमण हाम्रा लागि ऐतिहासिक अवसर पनि हो”, भण्डारीले अगाडि भन्नुभएको छ, “यस्तो उच्चस्तरीय भ्रमण आदानप्रदान हुँदा हाम्रो सम्बन्ध नयाँ तहमा विस्तार गर्न सघाउँछ । ”

भौतिक पूर्वाधारलाई अग्रता

चीनका राष्ट्रपति सीको भ्रमणका क्रममा दुई देशबीच हुने विभिन्न सम्झौतामा भौतिक पूर्वाधार निर्माणलाई अग्रता दिइनेछ । परराष्ट्र मन्त्रालयका अनुसार यसअघि भएका सम्झौता कार्यान्वयन तथा लगानीको टुङ्गोसहित थप सम्झौता गर्ने नेपाल र चीनको तयारी छ । त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले रेल्वे, सडक र विद्युतीय प्रसारण लाइनको निर्माण सम्झौतालाई विशेष ध्यान दिइने स्पष्ट पार्नुभएको छ ।

त्यस्तै, नेपाल र चीनबीच सम्बन्ध जोड्ने पहिलो राजमार्गको रूपमा रहेको अरनिको राजमार्गको स्तरोन्नति, रसुवागढी–छहरे–काठमाडौंँ सुरुङमार्ग, रेल्वे र सीमापार विद्युत् प्रसारणमा चिनियाँ लगानी भित्रायाउने विषयमा थप छलफल र सहमतिका लागि नेपालले आग्रह गर्नेछ । उहाँका अनुसार उत्तर दक्षिण करिडोर, किमाथाङ्का र हिल्सा सडक करिडोर, सीमा व्यवस्थापन लगायतका विषय पनि कार्यसूचीको छलफलमा छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीका अनुसार मकवानपुरमा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाका लागि चीनले गर्ने आर्थिक सहयोगसम्बन्धी सम्झौता पनि कार्यसूचीमा छ । प्रधानमन्त्री ओलीको चीन भ्रमणताका सन् २०१८ मा भएका सम्झौता अनुसार केरुङ काठमाडौँ रेलमार्गको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन अनुसार थप कार्यान्वयनका लागि यस भ्रमणका क्रममा थप छलफल हुनेछ ।

मन्त्रिपरिषद्ले नेपालको जलविद्युत् आयोजनामा चीनको लगानी रहने सम्झौता पनि प्राथमिकतामा राखेको जनाएको छ ।


प्रतिक्रिया