राष्ट्रपति सीको प्रतिबद्धता : ‘भूपरिवेष्टितबाट भूजडित बन्न सघाउँछौं’

रेडियो कान्तिपुर संवाददाता

आश्विन २६, २०७६ | काठमाडौं

काठमाडौँ — चीनका राष्ट्रपति सी चिनफिङले नेपालीको ‘भूपरिवेष्टित मुलुक’ बाट ‘भूजडित’ मुलुक बन्ने सपना साकार तुल्याउन चीनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेपालको दुईदिने राजकीय भ्रमणमा शनिबार आएका सीले उनको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित राजकीय भोजमा सम्बोधन गर्दै भने, ‘दुई मुलुकबीच बढीभन्दा बढी नाकाहरू खोली हिमालय वारपार बहुआयामिक कनेक्टिभिटी सञ्जाल निर्माण गर्नेछौं र भूपरिवेष्टित देशबाट भूजडित देश बन्ने नेपालको सपना साकार तुल्याउन मद्दत गर्नेछौं ।’

नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा चीनले हरसम्भव साथ–सहयोग दिने बताउँदै सीले केरुङ–काठमाडौं सुरुङमार्ग निर्माण अगाडि बढाइने प्रतिबद्धतासमेत व्यक्त गरे ।

राष्ट्रपति सीले सम्बोधनका क्रममा चीनले नेपालको आर्थिक विकासको आकांक्षालाई सघाउने र नेपाल पनि त्यसको कार्यान्वयनमा प्रतिबद्ध हुनुपर्ने मनसाय व्यक्त गरेका थिए । उनले नेपालको विकासमा साझेदारी गर्न चीन तत्पर रहेको र नेपालले पनि ‘अघि सारिएका योजनाहरू पूरा गरेरै छाड्नुपर्ने’ बताए । ‘हामीले बनाएका योजना पूरा गरेरै छाडौं । हामीले चीनमा पनि यस्तै गर्ने गरेका छौं,’ राष्ट्रपति सीले भने ।
चिनियाँ राष्ट्रपतिले चीन–नेपाल सीमापार रेलमार्गको सम्भाव्यता अध्ययन सुरु गरिने घोषणा पनि गरे । अरनिको राजमार्गको सञ्चालनलाई सुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नति गर्ने पनि उनले बताए । नेपालले अपेक्षा गरेका योजनाहरूलाई आफ्नो सम्बोधनमा राष्ट्रपति सीले बुँदागत रूपमा उल्लेख गरेका थिए ।

  • नेपालले अपेक्षा गरेका बहुप्रतीक्षित हिमालय सीमापार रेलमार्गसहितका योजनामा हरसम्भव साथ–सहयोग रहनेछ
  • बढी नाकाहरू खोलेर बहुआयामिक सम्पर्क सञ्जाल निर्माण गर्नेछौं
  • केरुङ–काठमाडौं सुरुङमार्गको परियोजनालाई अघि बढाउन हामीसक्रिय हुनेछौं
  • अरनिको राजमार्ग सञ्चालनसुनिश्चित बनाई विभिन्न चरणमा स्तरोन्नतिका लागि सहयोग गर्नेछौं
  • हाम्रो साझा हिमालय क्षेत्र रक्षागर्न सदा तत्पर रहनेछौं
  • हामीले बनाएका योजना पूरा गरेरै छाडौं, चीनमा पनि यस्तै गरेका छौं
  • चीन र नेपालको सम्बन्धमा समस्याछैन, मित्रता मात्रै छ

– राष्ट्रपति सी


‘केरुङदेखि काठमाडौंसम्मको सुरुङ मार्गको परियोजनालाई अघि बढाउन हामी सक्रिय हुनेछौं,’ राष्ट्रपति सीले भने । नेपालसँग जोडिएका उत्तरी नाकाहरू खोल्ने विषयमा पनि चिनियाँ राष्ट्रपतिले आफ्नो सम्बोधनमा छुटाएनन् । बढीभन्दा बढी नाका खोलेर बहुआयामिक कनेक्टिभिटी सञ्जालको निर्माण गर्ने राष्ट्रपति सीको घोषणा थियो ।

‘मलाई आशा छ– दुई देशका जनताबीचको समझदारी आउने दिनमा अझ बढ्नेछ,’ राष्ट्रपति सीले भने । नेपालमा भूकम्पपछिका परियोजनाहरूलाई सक्रियताका साथ अघि बढाइरहेको प्रसंगसमेत राष्ट्रपति सीले जोडेका थिए ।‘नेपालको राजनीतिक स्थायित्व, सामाजिक सद्भाव र जनताको सुखी जीवन देख्दा म अत्यन्तै हर्षित भएको छु । भविष्यप्रति मेरा आशाहरू जागेका छन्,’ सीले सम्बोधनमा भने, ‘मलाई आशा छ, दुई देशले अझ घनिष्ट राजनीतिक सम्बन्ध राख्नेछन् ।’ दुई देशबीचको दौत्य सम्बन्ध स्थापना भएको आधा शताब्दीमा दुई देशले विश्वमै आपसी मैत्री सम्बन्धको नमुना प्रस्तुत गरेको भन्दै उनले ‘चीन र नेपालको सम्बन्ध बीचमा केही समस्या छैन, मित्रतामात्रै छ’ भनेर राजकीय भोजमा उपस्थित सहभागीको स्याबासी बटुलेका थिए ।

  • पूर्वाधार निर्माणसहितका विभिन्न पक्षमा चिनियाँ लगानी तथा सहयोग अपेक्षा गरेका छौं
  • नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्गले जोडिएको हेर्न चाहेका छन्
  • नयाँ युगका लागि ‘सी चिनफिङ विचारधारा’ जनताकेन्द्रित विकासको महत्त्वपूर्ण दर्शन बनेको छ
  • शान्ति, स्थायित्व र विकासका लागि बहुपक्षीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल चीनसँगै उभिँदै आएको छ
  • हाम्रो सम्बन्ध सागरजस्तै गहिरो र सगरमाथाजस्तै उचो छ

– राष्ट्रपति भण्डारी
राष्ट्रपतिले नेपाल भ्रमण वर्ष २०२० का अवसरमा बढीभन्दा बढी चिनियाँ पर्यटकलाई नेपाल आउन उत्प्रेरित गर्ने प्रतिबद्धता पनि सुनाए । उनले स्पष्ट शब्दमा ‘लुम्बिनी बुद्धको जन्मस्थल हो’ भन्दै संसारमा सबभन्दा बढी बौद्धमार्गी चीनमा रहेकाले आगामी दिनमा बौद्धमार्गी थुप्रै चिनियाँ नेपाल भ्रमणमा आउने विश्वास व्यक्त गरे । चीनमा बुद्धधर्म ‘स्थानीय धर्म’ बनिसकेको सन्दर्भ उल्लेख गर्दै उनले यो धार्मिक सम्बन्धले पनि आपसी मैत्री बढाउन काम गर्ने बताए ।

‘मलाई आशा छ, दुवै देशले अझ बढी बहुपक्षीय सहकार्य गर्नेछन्,’ राष्ट्रपति सीले भने, ‘जलवायु परिवर्तनबारेको नेपाली चासोलाई चिनियाँ पक्षले राम्ररी बुझेको छ । यस विषयमा नेपाली पक्षले राखेका उपयुक्त मागलाई चीनले समर्थन गर्नेछ । हामी साझा हिमालय क्षेत्रको रक्षा गर्न सदा तत्पर रहनेछौं ।’ उनले आफ्नो सम्बोधनको सुरुमा उपस्थित सबैलाई नमस्ते भनेका थिए । त्यसपछि पनि एकाध नेपाली वाक्य उल्लेख गर्दै उनले नेपाल र चीनबीच असल दाजुभाइको सम्बन्ध रहेको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चिनियाँ समकक्षी सीलाई स्वागत गर्दै नेपालको पूर्वाधार निर्माणसहित विभिन्न पक्षमा चिनियाँ लगानी तथा सहयोगको अपेक्षा पेस गरिन् । उनले सीमापार कनेक्टिभिटीका लागि पूर्वाधार सुधार गर्नुपर्ने कुरामा नेपालले जोड दिँदै आएको पनि उल्लेख गरिन् । ‘नेपाली जनताले केरुङदेखि काठमाडौं हुँदै लुम्बिनीसम्म रेलमार्ग जोडिएको हेर्न चाहेका छन्,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘रेलवेको क्षेत्रमा चीनले हासिल गरेको अत्याधुनिक प्रविधि र चीनसँग उपलब्ध स्रोतसाधनको परिप्रेक्ष्यमा नेपालीहरूको यो चाहना छिट्टै पूरा हुने हाम्रो विश्वास छ ।’

राष्ट्रपति भण्डारीले पछिल्लो समयमा चर्को बहसमा रहेको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) को चिनियाँ अभियानमा विश्वका १५० भन्दा बढी राष्ट्र र दर्जनौं संघसंस्था पक्षधर बनिसकेको सन्दर्भ आफ्नो मन्तव्यमा समेटेकी थिइन् ।

‘नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादमा सी चिनफिङ विचारधारा जनता केन्द्रित विकासको एक महत्त्वपूर्ण दर्शन बनेको छ,’ राष्ट्रपतिको भनाइ थियो, ‘चीनको विकासमा चिनियाँ नेताको सक्षम र दूरदर्शी नेतृत्व एवं परिश्रमी चिनियाँ जनताको साथ महत्त्वपूर्ण रहेको छ भन्ने मलाई लाग्छ ।’

यसअघि राष्ट्रपति सीसँगको भेटमा भएको छलफलबाट अभिप्रेरित हुँदै ‘समृद्ध नेपाल सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई पूरा गर्न चीनसँगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेको भण्डारीले उल्लेख गरिन् । उनले नेपालमा चिनियाँ लगानी सुरक्षा हुने प्रत्याभूति दिलाउँदै लगानीकर्तालाई लगानीका लागि आह्वान गरिन् ।

‘हामीले जतिसक्दो चाँडो अति कम विकसित मुलुकबाट स्तरोन्नत हुँदै सन् २०३० सम्ममा मध्यम आय भएको मुलुकमा परिणत हुने उद्देश्य राखेका छौं,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यस उद्देश्य प्राप्तिका लागि हाम्रो आन्तरिक स्रोतसाधन पर्याप्त नहुने हुँदा हामीलाई वैदेशिक लगानीको खाँचो छ । हामी चिनियाँ लगानीकर्ताहरूलाई उत्पादनशील क्षेत्र, पूर्वाधार तथा जलस्रोत विकासलगायत सामाजिक क्षेत्रमा लगानी गर्न आह्वान गर्छौं, सरकारले लगानीको पूर्ण सुरक्षा गर्नेछ ।’

चीनले अहिलेसम्म नेपाललाई गरेको सहयोगको राष्ट्रपति भण्डारीले प्रशंसा गरिन् । नेपालको सार्वभौमसत्ता र राजनीतिक स्वतन्त्रता र नेपाली जनताले छनोट गरेको विकासको पथलाई चीनले समर्थन गर्दै आएको भण्डारीले उल्लेख गरिन् । ‘नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध छ, नेपाली भूमि चीनको हितविरुद्ध हुने कुनै पनि प्रकारका गतिविधिहरूका लागि प्रयोग हुन नदिने हाम्रो प्रतिबद्धतालाई व्यवहारमा उतार्न हामीले सबै प्रकारका ठोस उपायहरू अवलम्बन गर्दै आएका छौं,’ राष्ट्रपति भण्डारीले भनिन् ।

राष्ट्रपति भण्डारीले शान्ति, स्थायित्व र विकासका लागि बहुपक्षीय एवं अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल र चीन सँगै उभिँदै आएको उल्लेख गर्दै साझा चासोका क्षेत्रीय सवालहरूमा पनि सहकार्य जारी राखेको बताइन् । ‘विधिमा आधारित विश्वव्यवस्थाले चुनौती व्यहोर्नुपरेको वर्तमान अवस्थामा विकासोन्मुख राष्ट्रहरूबीचको ऐक्यबद्धता र सहकार्य अपरिहार्य छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘शान्तिपूर्ण, न्यायोचित तथा समावेशी विश्वव्यवस्था निर्माणका लागि चीनले खेल्दै आएको सकारात्मक भूमिकाको हामी प्रशंसा गर्दछौं ।’

राष्ट्रपति भण्डारीले यसअघि आफ्नो चीन भ्रमण क्रममा हस्ताक्षर भएका महत्त्वपूर्ण दस्तावेजमध्ये पारवहन तथा यातायात साझौताको प्रोटोकलले चीनका तीनवटा भू–बन्दरगाह र चारवटा सामुद्रिक बन्दरगाहसम्म नेपालको पहुँच स्थापित गरेको प्रसंग पनि सम्बोधनमा जोडिन् ।

चीन र नेपालबीच शताब्दीऔंदेखि सामाजिक सांस्कृतिक सम्बन्ध र सम्पर्क रहिआएको उल्लेख गर्दै सम्बन्धलाई नयाँ उचाइमा लैजाने अन्य प्रशस्त सम्भावनाहरू पनि रहेको बताइन् । ‘पारस्परिक विश्वास, सम्मान र हितमा आधारित हाम्रो सम्बन्ध, घनिष्ठ, मजबुत र समस्यारहित छ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘हाम्रो सम्बन्ध सागरजस्तै गहिरो र सगरमाथाजस्तै उचो छ ।’

राजकीय भोजका क्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, मुख्यसचिव लोकदर्शन रेग्मी, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेको मुख्य टेबलमा सहभागिता थियो ।

पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, शेरबहादुर देउवा तथा मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसहित समाजका विभिन्न क्षेत्रका दुई सयभन्दा बढी विशिष्ट प्रतिनिधिको उक्त राजकीय भोजमा उपस्थिति थियो । त्यहाँ नेपाली र चिनियाँ भाषाका विभिन्न गीतसंगीत पनि प्रस्तुत गरिएको थियो ।

शीतलनिवासमा राष्ट्रपति सी

शनिबार अपराह्न राजकीय भोजको समारोह सुरु हुनुअघि चिनियाँ राष्ट्रपति सी चिनफिङले पहिलो औपचारिक भेट राष्ट्रपति विद्यादेवी भण्डारीसँग शीतलनिवासमा गरेका थिए । विमानस्थलबाट सोल्टी होटल पुगेपछि केहीबेर आराम गरी राष्ट्रपति सी शीतलनिवास पुगेका थिए । भेटमा राष्ट्रपति भण्डारीले नेपालले चीनसँगको सहकार्य थप दरिलो ढंगले अघि बढाउन चाहेको बताएकी थिइन् । त्यहाँ उनले चीनले नेपाललाई पुर्‍याएको सहयोगका लागि धन्यवाद दिएकी थिइन् । उनले नेपालको उपादकत्व वृद्धि गर्नका लागि चिनियाँ लगानीको अपेक्षा गरेको उल्लेख गरेकी थिइन् । त्यस्तै नेपाल र चीनबीचको व्यापार घाटा कम गर्नका लागि नेपाली सामानलाई चीनमा सहज प्रवेशका लागि थप अनुकूल स्थिति सिर्जना गर्न आग्रह गरेकी थिइन् ।

शीतलनिवासको भेटमा चिनियाँ राष्ट्रपति सीले नेपालले लिएको सुखी नेपाली समृद्ध नेपालको सपनामा सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाएका थिए ।

 तस्बिर : अंगद ढकाल/कान्तिपुर


प्रतिक्रिया