एयरपोर्टमा तोडफोड प्रकरण :सांसद साहलाई पक्राउ गर्न पत्र काटियो

आश्विन २८, २०७६ | जनकपुर

जहाज डिले भएको आक्रोसमा बुद्धएयरको काउन्टरमा तोडफोड गर्ने प्रतिनिधिसभाका सांसद प्रमोद साहलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय धनुषाले पत्र काटेको छ । काठमाण्डौंमा रहेका सांसद साहलाई पक्राउ गरेर बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालयलाई पत्र लेखेको हो ।

धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार सांसद साहलाई पक्राउ गर्न पत्र काठमाण्डौं पठाउने प्रकृया थालिएको छ । जहाज निर्धारित समय भन्दा ३ घण्टा डिले भएको भन्दै सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्धएयरको काउन्टरमा तोडफोड गरेका थिए । सांसद साहले जहाजको अवस्थाबारे बुझ्न खोज्दा एयरलायन्सका कर्मचारीहरुले राम्रो कुनै प्रतिक्रिया नदिएको भन्दै काउन्टरमा तोडफोड गरेको स्वीकार गरेका छन् । 

नागरिक उड्ययन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्धएयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै सांसद साहबिरुद्ध सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिएका थिए । एसपी खनालले सांसद साहलाई पक्राउ गरेर धनुषा प्रहरीको जिम्मा लगाएपछि कारबाहीको प्रकृया अगाडि बढाइने बताउनुभयो । 

यता, सांसद साहले आफ्नो फेसवुक वालमा एयरपोर्ट प्रकरणबारे थप प्रष्टिकरण दिएका छन् । जनकपुर विमानस्थलमा लामो समयदेखि यात्रुहरु एयरलायन्सको बेथिति भोगिरहेको र आफू काबू भएर सोमबार लाती हिर्काएको स्टाट्समा लेखेका छन् ।

‘एउटा जिम्मेवारी व्यक्तिको हैसियतले एयरलायन्सको गलती र मनोमानी क्रियाकलापको बिरोध गरेको हुँ,’ सांसद साहले लेखेका छन्, ‘जनताले दिएको मतको अपमान भइरहेकोले चुप लागेर बस्न सकिन्न । यो गल्ती हो भन्ने कार्वाही भोग्न तयार छु ।’ उनले एयरपोर्ट र एयरलायन्सको बद्मासीका बारेमा धनुषाका सीडीओ प्रदिप कणेल र विमानस्थलका प्रमुख ढकाललाई समेत फोनमा जानकारी गराएको दाबी गरेका छन् । 

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका निर्वाचित सांसद साहले विमानस्थलको रनवेमा छाडा चौपाया, विशिष्ट कक्षमा फालिएको फोहर र मुटुका बिरामीलाई तत्कालै काठमाण्डौं पुर्‍याउने विषयमा विमानस्थलका कर्मचारी र एयरलायन्सले वेवास्ता गरेपछि रिसले काउन्टरमा लात्तिले हिर्काएको बताए । मुटुका बिरामी जनकपुरका शौखिलाल चौधरीको समस्याबारे बुद्धएयरलाई जानकारी गराउदा कर्मचारीले वास्ता नगरेको सांसद साहले आरोप लगाए ।

प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य, श्रम तथा रोजगार समितिका सदस्य समेत रहेका सांसद साहलाई त्यो समितिको बैठकमा सहभागि हुन १ बजे नै काठमाण्डौं पुग्नुपर्ने थियो । तर, जहाज ढिलो हुँदा उनको त्यो बैठकमा सहभागि हुने सम्भावना टर्‍यो । ‘मंगलबार विहानै अनुगमनमा चार जिल्ला निस्कनु छ । समितिको बैठकमा त्यही विषयमा छलफल थियो,’ सांसद साहले भने, ‘जहाज डिले भएर बैठकमा सहभागि हुन पाइन । एयरलायन्सका कर्मचारीले पनि झर्कोपर्को गरेपछि रिसमा लात्ती हिर्काएको हुँ ।’


प्रतिक्रिया