राजपाका सांसद साह काठमाडौंबाट पक्राउ

आश्विन २८, २०७६ | जनकपुर

राष्ट्रिय जनता पार्टी राजपका सांसद प्रमोद साहलाई प्रहरीले पक्राउ गरेको छ । जहाज डिले भएको आक्रोसमा बुद्धएयरको काउन्टरमा तोडफोड गर्ने प्रतिनिधिसभाका सांसद प्रमोद साहलाई प्रहरीले काठमाण्डौंबाट मंगलबार पक्राउ गरेको छ ।

सांसद साहलाई काठमाडौं एयरपोर्टबाट पक्राउ गरिएको छ । काठमाडौंमा रहेका सांसद साहलाई पक्राउ गरेर बुझाउन जिल्ला प्रहरी कार्यालय धनुषाले महानगरीय प्रहरी कार्यालयलाई मंगलबार पत्र लेखेको थियो । धनुषाका प्रहरी प्रमुख एसपी शेखर खनालका अनुसार सांसद साहलाई पक्राउ गरेपछि काठमाण्डौंबाट जनकपुर ल्याइनेछ ।

‘गैर सैनिक हवाई उडान २०१५ अन्तर्गत सांसद साहमाथि उजुरी परेको छ,’ एसपी खनालले भन्नुभयो, ‘मुद्दा दर्ता गरेपछि उनलाई पक्राउ गरिएको छ ।’

बुद्धएयरको जहाज निर्धारित समय भन्दा ३ घण्टा डिले भएको आक्रोसमा सांसद साहले सोमबार जनकपुर विमानस्थलस्थित बुद्धएयरको काउन्टरमा तोडफोड गरेका थिए । सांसद साहले जहाजको अवस्थाबारे बुझ्न खोज्दा एयरलायन्सका कर्मचारीहरुले राम्रो प्रतिक्रिया नदिएको आक्रोसमा काउन्टरमा लातीले हिर्काएको स्वीकार गरेका छन् । 

नागरिक उड्ययन कार्यालय, जनकपुरका प्रमुख सन्तोष ढकालले विमानस्थलमा रहेको बुद्धएयरको काउन्टरमा तोडफोड गरेको र हवाई उडानमा बाधा उत्पन्न गरेको भन्दै सांसद साहविरुद्ध सोमबार साँझ नै जिल्ला प्रहरी कार्यालय, धनुषामा उजुरी दिनु भएको थियो । 


प्रतिक्रिया