भारतसँग सीमा जोडिएका दार्चुलाका नाका ४८ घण्टाका लागि बन्द

आश्विन २८, २०७६ | दार्चुला

स्थानीयस्तरको निर्वाचनका लागि भन्दै भारतको पिथौरागढ जिल्लासँग जोडिएका दार्चुलाका सीमा नाकाहरु बन्द गरिएका छन् । हिजो साँझ ५ बजेबाट निर्वाचनका लागि भारतसँग सीमा जोडिएका जिल्लाका सबै नाकाहरु बन्द गरिएको जिल्ला प्रशासनले जनाएको छ ।

भारतमा ग्राम पञ्चायत निर्वाचनका लागि पिथौरागढ जिल्लासँग सीमा जोडिएका नाकाहरु भोलि बुधबार साँझ ५ बजेसम्म बन्द रहने प्रमुख जिल्ला अधिकारी शंकर बहादुर विष्टले बताउनुभयो । भारतमा भोलि हुने ग्राम पञ्चायत निर्वाचनका लागि असोज २७ गते साँझ ५ बजेदेखि २९ गते साँझ ५ बजेसम्मका लागि पुल बन्द गर्न गरिएको हो । 

भारतको विकास खण्ड धारचुला, डिडीघाट र मुनस्यारीमा भोलि सदस्य ग्राम पञ्चायत, सदस्य क्षेत्र पञ्चायत एवं सदस्य जिल्ला पञ्चायतका लागि निर्वाचन हुँदैछ । सो निर्वाचनमा सुरक्षा संवेदनशीलता कारण देखाउँदै दार्चुलासँग जोडिएका सबै नाकाहरु बन्द गर्ने सम्बन्धी भारतीय प्रशासनले पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी विष्टले जानकारी दिनुभयो । निर्वाचनका लागि भारतसँग जोडिएका दार्चुलाका सबै नाकाहरु ४८ घण्टाका लागि बन्द छन् । 

यसअघि अक्टोबर ५ अर्थात् असोज १८ गते भएको त्रिस्तरीय ग्राम पञ्चायत निर्वाचनका लागि बैतडीका झुलाघाट तथा दार्चुलाका लाली, जौलजीवि र दत्तु नाका ४८ घण्टाका लागि बन्द गरिएका थिए । सदरमुकाम खलंगा र तिग्रम नाका आधा दिन बन्द हुँदा जिल्लाको जनजीवन प्रभावित हुन पुगेको थियो । खलंगासहित जिल्लाका लाली, जौलजिवी, दत्तु, तिग्रमघाट नाका बन्द गरिएको प्रशासनले जनाएको छ । जिल्ला प्रशासनले असोज २३ गते सूचना प्रकासित गर्दै भारतसित सीमा जोडिएका स्थानीयलाई बोधार्थ पठाएर सीमा बन्द रहने जनाएको थियो । 

अन्तर्राष्ट्रिय सीमा नाका सिल गर्ने सम्बन्धमा द्विपक्षीय समन्वय र सहमतिमा मात्रै नाका बन्द गर्नुपर्ने व्यवस्था भएपनि समन्वय र सूचना आदानप्रदानमा निकै कमजोरी देखिएको थियो । जसका कारण ४/५ घण्टा जिल्ला सदरमुकाम खलंगाको पुल बन्द गरिदा जिल्लाका सर्वसाधारणलाई मर्का गरेको स्थानीय बताउँछन् । अस्पष्ट सूचनाका कारण सर्वसाधारणहरु मर्कामा परेका थिए । यस पटक भने जिल्ला प्रशासन कार्यालय दार्चुलाले जिल्लाका सबै नाकाहरु बन्द गरिनुभन्दा ४ दिन अगावै सूचना जारी गरेको थियो । 

सीमा क्षेत्रका स्थानीय सबै भारतीय बजारमा निर्भर भएको हुनाले तीन दिनसम्म नाका बन्द हुँदा त्यहाको जनजीवनमा असर परेको स्थानीय नरसिह ठगुन्नाले बताए । दैनिक ज्यालादारीमा भारी बोक्ने, मजदुरी गर्ने र भारतीय बजारबाट सामान ल्याएर सदरमुकाममा विक्री गर्नेलाई समस्या भएको उनको भनाई छ । 


प्रतिक्रिया