पोखरा क्रस–कन्ट्री दौडमा ३० चिनियाँ धावक 

आश्विन २८, २०७६ | पोखरा

चीन र नेपालका धावक सहभागी हुने पोखरा अन्तर्राष्ट्रिय क्रस–कन्ट्री दौड बुधबार हुँदैछ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र चीनको कुन्मिङ पर्वतारोहण तथा अन्वेषण संघको संयुक्त आयोजनामा हुने प्रतियोगिताको तयारी सकिएको छ ।

दौडमा सहभागी हुने चिनियाँ प्राविधिक सहितको टोली यतिखेर पोखरामा छ । टोलीमा चीनका ३० धावक, त्यहाँका विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधि सहित ६० जना छन् । दौडमा नेपालको तर्फबाट २५ टिम सहभागी हुँदैछन् । दौडमा चिनियाँ र नेपाली सहित १ सय ५ खेलाडी सहभागी हुनेछन् ।  

प्रतियोगितामा सहभागीले ३ विद्यामा सहभागिता जनाउने छन् । जसमा दौड, साइक्लिङ र बोटिङ हुनेछ । जसअन्तर्गत २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुनेछ । ४२.२ किलोमिटरको दौडमा धावक मट्टिखान र पुम्दीभुम्दीको १ हजार ३ सय मिटरको उचाइसम्म पुग्नेछन् । तीन खेलाडीको एक टिम बन्ने छ । टिममा एक महिला खेलाडी अनिवार्य गरिएको छ ।

पोखराको बाराही घाटबाट सुरु हुने दौड, राष्ट्रबैंक चोक, डयासाइड, डेभिजफल, तिब्बती क्याम्प, फुस्रेखोला, कमेरा, राम्दी, मट्टिखान, स्याङ्जाको रामकोट, कुभिण्डे, उल्लेरी, खरिखानी, पैयूँ चौतारी, ओखलेडाँडा, कालावाङ, मोतीराज चोक, स्वाँरा, लुकुमस्वाँरा, तल्ला गाउँ, ढुंगेपानी, शान्तिस्तुपा, लिची बोट हुँदै बोटिङ गरेर बाराही घाटसम्मको रुट तय गरिएको छ । यो रुट सम्पन्न गर्न करिब ५ घण्टा लाग्न सक्ने अनुमान गरिएको छ ।

प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले प्रतियोगिता सञ्चालन गर्न ३५ लाख रुपैयाँ अनुमानित खर्च हुने बताए । उनले आगामी वर्षमा निरन्तरता दिने गरी प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । दौडको चिनियाँ सञ्चारमाध्यममा प्रचार प्रसार गरी पोखराको साहसिक खेल पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य लिएको उनले बताए ।

‘पोखरालाई मित्रराष्ट्र चीनको पर्यटकीय बजारमा परिचित गराउन र विश्वकै धेरै घुम्न जाने संस्कृति विकास हुँदै गरेको देशबाट पोखरामा पर्यटक भित्रयाउँन हामीले यो ‘मेघा इभेन्ट’को आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘हामी यो कार्यक्रममार्फत पोखरालाई साहसिक खेलकुद पर्यटनको केन्द्र बनाउन चाहन्छौं ।’ 

पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको कुनमिङ सहरबाट आएको टोलीले हवाइ खर्च आफैं व्यहोर्छन् । उनीहरुको नेपाल बसाइ र प्रतियोगिताका खर्च स्थानीय आयोजकले व्यहोर्छन् । दौडलाई ‘ब्रान्डिङ’ गर्न प्रतियोगिताको नाम ‘रन फर लभ’ राखिएको संयोजक पालिखेले बताए ।

बाराहीघाटबाट फुस्रेखोलासम्म खेलाडी दौडिनेछन् । फुस्र्रेखोलामा राखिने साइकल लिएर उनीहरु निर्मलपोखरीतिर उकालो लाग्नेछन् । शान्तिस्तुपबाट फेवाताल झरेपछि बोटिङ गरेर पुन: बाराहीघाट पुग्नेछन् । विजेता बन्न टिमका ३ खेलाडी सँगसँगै आउनुपर्छ । प्रतियोगितामा नेपालीतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमका खेलाडीलाई चीनको कुन्मिङ सहरमा आगामी नोभेम्बरमा हुने विश्व प्रशिद्ध ‘जिआओजी’ पर्वतीय दौडमा सहभागिताका लागि पठाइने भएको छ । 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी चिनियाँ राष्ट्रपति सी जिनफिङ स्वयंबाट नै नेपालको पर्यटन प्रवद्र्धनमा सघाउने प्रतिवद्धता व्यक्त भएको सन्दर्भमा यो दौडले अझ ठूलो महत्व राख्ने बताउँछन् । दौड हुने रुटका विभिन्न स्थलमा स्वागत गेट तयार पारिएको छ । दौड हुने क्षेत्रका वडामा स्थानीयले स्वागतको तयारी गरेका छन् । दौडलाई नेपाल पर्यटन बोर्ड, एथलेटिक्स सोसाइटी काठमाडांै, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लब लगायत विभिन्न संघ/संस्थाले सघाएका छन् । 


प्रतिक्रिया