निर्वतमान सभामुख महरा थप ३ दिन हिरासतमै बस्ने 

रेडियो कान्तिपुर संवाददाता

आश्विन २८, २०७६ | काठमाडौं

संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई १३ दिन थुन्न अदालतले प्रहरीलाई अनुमति दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपककुमार दाहालको एकल इजलासले महराविरुद्ध अनुसन्धान गर्न प्रहरीलाई १३ दिनको म्याद दिएको हो । १३ दिने म्याद भने पक्राउ परेको दिनबाट गन्ती हुनेछ । महरा यही असोज १९ गते बालुवाटारस्थित सभामुख निवासबाटै पक्राउ परेका थिए । तर, अदालत बन्द भएकाले म्याद थप हुन सकेको थिएन ।

आजसम्म गरेर महरा १० दिन हिरासतमा बसिसकेका छन् । तीन दिनपछि प्रहरीले महरालाई पुन: अदालतमा पेश गर्ने छ । यो अवधिमा महरासँग प्रहरीले आरोपमाथि बयान लिनेछ । प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पीडित महिला र आरोपित महराको फरेन्सिक जाँच गराइसकेको छ ।

महरासँगको बयान र फरेन्सिक जाँचको प्रतिवेदनको आधारमा अनुसन्धान प्रतिवेदन तयार गर्नेछ । त्यसपछि अदालतले महरालाई धरौटी, साधारण तारेख वा पुर्पक्षका लागि थुनामा पठाउने मध्ये कुनै एक निर्णय लिनेछ । 

महानगरीय प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएका महरा अहिले नर्भिक अस्पतालको क्याबिनमा उपचाररत छन् । उच्च रक्तचापको समस्या देखिएपछि उनलाई गत विहिबार अस्पताल भर्ना गरिएको हो । महरालाई आज विहान अस्पतालबाट नै अदालत लगिएको थियो । अदालतको म्याद थपपछि महरा पुन: अस्पताल भर्ना भएका छन् ।  


प्रतिक्रिया