‘ब्रान्ड’ बन्दै जुम्ली मार्सी

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३०, २०७६ | काठमाडौं

(जुम्ला) — दु:ख धेरै गर्नुपर्ने, उत्पादन भने कम हुने । यही कारण चन्दननाथ–१० बारकोटेबाडाका धनबहादुर खत्रीले तीन वर्षअघि मार्सी धान लगाउन छाडेका थिए । अहिले भने उनको मन मार्सीतिर फर्किएको छ । व्यापारीहरू मार्सी चामल खोज्दै गाउँमै पुग्न थालेपछि पुन: रोप्न सुरु गरेको उनले बताए ।

परिश्रमका तुलनामा कम फाइदा हुने भएकाले लगाउन छाडिसकेका जुम्लाका खत्रीजस्ता थुप्रै किसान अहिले पुन: मार्सी धानमा आकर्षित छन् । पछिल्लो समय मार्सी चामल लोकप्रिय ‘ब्रान्ड’ का रूपमा स्थापित हुनु र जारीकरणसमेत सहज हुनुले स्थानीयको मोह बढेको हो । कृषि विकास कार्यालयका अनुसार यो वर्ष जुम्लामा ५ हजार ८ सय ८० मेट्रिक टन धान उत्पादन भएकोमा मार्सीको मात्रै हिस्सा ६५ प्रतिशत अर्थात् ३ हजार ८ सय २८ मेट्रिक टन छ । बाँकी धानमा चन्दननाथ–१, चन्दननाथ–२, लेकाली–१ र लेकाली–२ रहेका कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । ‘मार्सीको माग बढ्दै गएपछि किसानले पनि मिहिनेत गर्न थालेका छन्,’ उनले भने, ‘व्यापारिक हिसाबले यसले राम्रै फाइदा गरेको छ ।’

उनका अनुसार गत वर्ष जुम्लामा उत्पादित धानमा ५२ प्रतिशत हिस्सा मार्सीको थियो । ५ हजार ९ सय ६० मेट्रिक टनमध्ये मार्सीमात्रै ३ हजार ९९ मेट्रिक टन उत्पादन भएको थियो । ‘पहिले पहिले त मार्सी फाट्टफुट्टमात्रै लगाइन्थ्यो,’ उनले भने, ‘धेरै धान लगाउनेले मार्सी लगाउन छाडेका थिए, अब फेरि लगाउने बढेका छन् ।’

प्राचीनकालमा गुरु चन्दननाथ बाबाले तातोपानीको लिताकोटस्थित लाछु ज्युलोमा परीक्षणका रूपमा रोपेको मार्सी धान जुम्लाकै पहिचान बन्यो । सुरुमा स्थानीयले आफ्ना लागि ठिक्क मात्र खेती गर्ने मार्सी धान बिस्तारै कोसेलीका रूपमा जिल्ला बाहिर जान थाल्यो । अहिले भने व्यापारिक प्रयोजनकै लागि काठमाडौं, सुर्खेत, नेपालगन्ज र बुटवलजस्ता सहरका डिपार्टमेन्टल स्टोरहरूमा पुग्न थालेको छ ।

फाइदा बढ्न थालेपछि मार्सी लगाउने किसानको संख्या बढेको खलंगास्थित कोसेलीघरका सञ्चालक गोविन्द आचार्यले बताए । ‘मार्सी–व्यापार लोभलाग्दो गरी उकालो लागेको छ,’ उनले भने ।

गत वर्ष २ सय क्विन्टल मार्सी चामल बिक्री गरेका उनले यो वर्ष ८ सय क्विन्टल बिक्री भएको बताए । ‘पोहोरसम्म प्रतिकेजी सय रुपैयाँमा किनबेच थियो, अहिले किसानका घरघरमै १ सय ५० रुपैयाँमा किनबेच छ,’ उनले भने, ‘बजारमा मार्सी चामल चाख्नकै लागि भए पनि खोज्ने बढ्नुको फाइदा किसानसम्म पुगेको छ ।’ माग बढेपछि उत्पादन पनि बढ्न थालेको उनले बताए । जुम्ला आइपुग्ने आगन्तुक होस् वा होटलमा खानाका रूपमा, मार्सी चाख्न चाहनेको संख्या बढेको छ । जुम्ला पुगेर फर्किनेले कोसेलीका रूपमा मार्सी चामल बोकेकै हुन्छन् ।

मार्सी जुम्लाको रैथानेमात्र होइन, अर्गानिक चामल पनि हो । एमटी अर्गानिक हाउसका सञ्चालक मयालाल देवकोटा बजारको माग धान्नै मुस्किल भएको बताउँछन् । चालु वर्षदेखि चामलको व्यापार थालेका उनले पहिलो पटकमै ७ सय क्विन्टल बिक्री गरिसकेको बताए । ‘पहिले सबैले हेलाँ गर्ने मार्सी अहिले ब्रान्ड बनेको छ,’ उनले भने, ‘हातहातै बिक्न थालेपछि हामीले गाउँसम्मै पुगेर खोजीखोजी ल्याउने गरेका छौं ।’

स्थानीयले मार्सी रोप्न छोड्नुको कारण उत्पादन कम हुने भएकाले खान नपुग्ने अवस्था थियो । यसले गर्दा धेरै फल्ने धान लगाउन किसानको ध्यान गएको थियो । कृषि अनुसन्धान केन्द्रले पनि मार्सीको विकल्प रोज्न किसानलाई प्रोत्साहित गरेको थियो । जुम्लाका किसान उन्नत जातका अन्य धान र तरकारी खेतीतर्फ लागेका थिए । बजारमा मार्सीको माग उकालो लागेपछि किसान अहिले मार्सीबोहकका धानको कुरा गर्दैनन् । सिँजाका किसान पुन्न शाहीले पोहोरसम्म चार भारी खेतमा मार्सी लगाउने गरेकोमा यो वर्ष १२ भारीमा लगाएको बताए । ‘तरकारीभन्दा त मार्सी बेचेर बढी कमाइन्छ,’ उनले भने, ‘चामलकै कुरा गर्ने हो भने पनि एक केजी मार्सी बेच्दा बजारको तीन केजी चामल आउँछ । जुम्ली अहिले मार्सी बेच्छन्, अरू चामल खान्छन् ।’ मार्सीले आर्थिक उपार्जनमा टेवा पुर्‍याएको उनले बताए । बारेकोटेबाडाका किसान धनप्रसादले व्यापारीहरू घरघरै आएर खरिद गर्न थालेपछि मार्सीको दिन फर्किएको बताउँछन् ।

नेपाल सरकारले मार्सी उत्पादनलाई प्रोत्साहन गर्न धान खेतीको बिमा कार्यक्रम लागू गरेको छ । कर्णाली प्रदेश सरकारले पनि रैथाने बालीहरूको प्रवर्द्धन कार्यक्रमअन्तर्गत मार्सीको संरक्षण, संवर्द्धन तथा बजारीकरण कार्यक्रम लागू गरेको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले मार्सीमार्फत स्थानीयको आयस्तरमा सुधार ल्याउन सकिने भएकाले जुम्लामा संरक्षण तथा प्रवर्द्धन कार्यक्रम बिस्तार गरिएको बताउँछिन् । स्थानीय तहको सहयोगमा विश्वको सबैभन्दा अग्लो स्थानमा धान फल्ने भनेर चिनिएको छुमचौरमा समेत १० वर्षपछि मार्सी रोप्न थालिएको छ । पातारासी गाउँपालिकाले छुमचौर ज्युलोलाई कृषि पर्यटकीय केन्द्र बनाउन विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को तयार गरेको छ । गाउँपालिकाको मार्सी संरक्षण कार्यक्रमअन्तर्गत गत वर्ष मार्सी लगाइएको थियो । दसक अघिसम्म छुमचौरको ५ सय रोपनीमा मार्सी धान लगाइन्थ्यो । पहिलो चरणमा एक रोपनीमा मार्सी धान रोपिएको स्थानीय भुवन रावतले बताए ।

चामल बेच्छ जुम्लाजुम्लासहित कर्णालीका अन्य जिल्ला खाद्यान्नमा परनिर्भर छन् । नेपाल खाद्य संस्थानले बर्सेनि चामल अनुदानमा करोडौं रुपैयाँ खर्च गर्ने गरेको छ । तर मार्सीको कारण पछिल्लो समय जुम्ला चामल बिक्री गर्ने जिल्लामा कहलिएको छ । कृषि विकास कार्यालयका अनुसार गत वर्ष जुम्लाबाट करिब ६ करोड रुपैयाँको मार्सी चामल बिक्री भएको थियो । यो वर्ष बिक्री परिमाण अझ बढ्ने कार्यालय प्रमुख देवकोटा बताउँछन् । ‘मार्सी खानका लागि पनि स्वादिष्ट र पोषिलो छ,’ उनले भने, ‘यसले गर्दा देशका ठूलठूला सहरमा निर्यात हुने क्रम बढेको छ ।’

मार्सी संसारमै अग्लो भूभागमा फल्ने धान हो । २ हजार ८ सय ६० मिटर उचाइमा अवस्थित छुमचौर ज्युलोमा मार्सी फल्छ । सामान्यतया: कात्तिक पहिलो साता भित्र्याइने मार्सी यसपटक किसानले असोजको पहिलो सातामै भित्र्याएका छन् । कृषि प्राविधिक खेमराज शाहीले अन्य जातका धान उत्पादनमा गिरावट आए पनि मार्सीको उत्पादन भने बढेको बताए । करिब एक हजार वर्षअघि दत्तातय चन्दननाथ मन्दिरको स्थापना भएदेखि मार्सी धानको खेती सुरु भएको हो ।

इतिहासकार रमानन्द आचार्य जुम्ला कल्याल राज्यको सहयोगमा मार्सी धानको अनुसन्धान तथा व्यवस्थापन गरिएको बताउँछन् । उनका अनुसार १०९८ सालमा सुरु गरिएको मार्सी धानको परीक्षण १११२ सालमा भएको थियो । ‘सोही वर्षदेखि जुम्लाभरि धान लगाउन थालिएको हो,’ उनले भने, ‘अहिले यो धानको चर्चा देश–विदेशमा भएको छ, स्वाद गाउँदेखि सहरसम्म चाखिएको छ ।’

गुरु चन्दननाथले मार्सी उत्पादन गर्दा लक्षाल पैकला भन्ने व्यक्तिले सहयोगीको भूमिका खेलेका थिए । उनको उतिबेला भनेको कुरा चन्दननाथले नेपाली कागजमा संस्कृतमा लेखेका थिए । चन्दननाथ निवासी पूर्णसिंह कठायतले उक्त कुरा आफ्नो डायरीमा उतारेका छन् । उनको डायरीमा मार्सीको इतिहास संग्रहित छ । डायरीमा उल्लेख भएअनुसार २०४४ सालसम्म मार्सीको उत्पादन राम्रो थियो । त्यसपछि भने मार्सीमा विभिन्न खाले रोग देखापर्न थाले । रोगबाट बाली जोगाउन कृषिविज्ञको परामर्शबिना जथाभावी औषधि छर्किन थालेपछि त्यसको दीर्घकालीन असर परेको इतिहासकार आचार्य बताउँछन् । स्वादिलो, रसिलो र पोषिलो भएकै कारण १९०४ सालमा जंगबहादुर राणाको पालादेखि हुलाकबाट प्रतिदिन एक माना चामल काठमाडौं पठाइन्थ्यो । २००७ सालसम्म यो क्रम रहेको आचार्य बताउँछन् ।


प्रतिक्रिया