विभिन्न प्रयोजनका लागि ३५ हेक्टर वन प्रयोगको अनुमति 

रेडियो कान्तिपुर संवाददाता

आश्विन ३०, २०७६ | काठमाडौं

सरकारले फरक प्रयोजनका लागि मुलुकका विभिन्न स्थानमा रहेको ३५ हेक्टर बढी राष्ट्रिय वन क्षेत्र प्रयोगको अनुमति दिएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले जलविद्युत आयोजना, प्रसारणलाइन, बसपार्क निर्माण र चुनढुंगा उत्खननका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको हो ।

मर्स्याङ्दी कोरिडोर २२० केभी प्रसारणलाइनका लागि लमजुङको १६ दशमलव २८ हेक्टर, तल्लो इर्खुवा जलविद्युत आयोजनाका लागि भोजपुरको १ दमलब ३७, माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजनाका लागि लमजुङको एक दशमलब ३१७ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोगका लागि सरकारले स्वीकृति प्रदान गरेको हो ।

यस्तै भेरीगंगा नगरपालिकामा बसपार्क निर्माण गर्न २ दशमलब १५ हेक्टर तथा चुनढुंगा उत्खननका लागि ललितपुरको गोदावरीमा रहेको राष्ट्रिय वन क्षेत्रको ४ दशमलब २०, उदयपुरको उदयपुरगढीमा रहेको ४ दशमलब ९९ र तनहुँको व्यासमा रहेको ४ दशमलब ८५ हेक्टर वन क्षेत्र प्रयोगका लागि सरकारले अनुमति दिएको छ । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले माओवादी युद्धका बेला मारिएका बाँके नेपालगन्जक–२ का अधिराजकुमार शर्माका बुबालाई १० लाख रुपैयाँ सहायता दिने निर्णय भएको जानकारी दिनुभयो । यस्तै सरकारले जनआन्दोलनमा घाइते भएकी काभ्रे पाँचखाल नगरपालिका–४ की सानुमाया लामालाई पनि ३ लाख रुपैयाँ राहत रकम दिने निर्णय पनि गरेको छ । 


प्रतिक्रिया