सांसद साह प्रकरण : मुद्दा पेश, थुनछेक बहस भोलि

- अजित तिवारी, जनकपुर

    आश्विन ३०, २०७६

    जनकपुर विमानस्थलस्थित बुद्धएयरको काउन्टर तोडफोड गरेको आरोपमा पक्राउ परेका प्रतिनिधिसभाका सांसद प्रमोद साहविरुद्ध चलाइएको मुद्दा जिल्ला अदालतमा बिहीबार नै पेश गरिएको छ ।

    अदालतमा शुक्रबार थुनछेकको बहस हुनेछ । सरकारी वकिल कार्यालय, जनकपुरले सांसद साहविरुद्धको मुद्दा अदालतमा बिहीबार अपरान्ह पेश गरिएको बताएको छ । सोमबार काठमाडौं उड्न जनकपुर विमानस्थल पुगेका सांसद साहले जहाज ढिलो भएको आक्रोसमा बुद्धएयरको काउन्टरमा लात्ती प्रहार गरेका थिए ।

    उनलाई मंगलबार प्रहरीले पक्राउ गरेर जनकपुर ल्याएको थियो । बुधबार जिल्ला अदालतले अनुसन्धानका लागि प्रहरीलाई ४ दिनको म्याद दिएको थियो । चार दिनको म्याद सकिन दुई दिन बाँकी नै छँदा जिल्ला प्रहरी कार्यालय, धनुषाको तोडफोड मामिलाको सबै अनुसन्धान सकेको छ ।

    प्रहरीले बुझाएको अनुसन्धानको फायल र सांसद साहसित लिइएको वयानलाई आधार बनाएर सरकारी वकिल कार्यालयले बिहीबार अदालतमा मुद्दा पेश गरिएको सरकारी वकिल कार्यालयका प्रवक्ता शान्ति बरालले बताउनुभयो । उहाँले सांसद साहविरुद्ध हवाई यातायातसंग सम्बन्धित व्यक्तिको सुरक्षाविरुद्धको कसुरमा मुद्दा दायर गरिएको बताउनुभयो ।

    सांसद साहलाई पक्राउ गरेको विरोधमा उनको दल राष्ट्रिय जनता पार्टी आन्दोलनरत्त छ । उनी पक्राउ लगत्तै बन्द, चक्काजाम र प्रदर्शनमा उत्रिएका राजपाले शनिबार जनकपुर बन्दको समेत आह्वान गरेको छ ।   

    प्रकाशित:आश्विन ३०, २०७६

    User's Feedback

    Comment via Facebook

    फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्