वीरगञ्ज पथलैया व्यापारीक मार्गको काम सुस्त 

कार्तिक १, २०७६ | पर्सा

निर्माण कम्पनीहरुको ढिलासुस्तीका कारण पर्साको वीरगञ्ज–पथलैया व्यापारीक मार्ग निर्माणको कामले गति लिन सकेको छैन । योजना अन्तर्गत हाल सम्म ५० प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको छ । व्यापारीक मार्ग विस्तार योजनाका निमित्त प्रमुख अरुण कुमार कर्णले सम्पूर्ण प्याकेजमा हाल सम्म औसतमा ४५ देखि ५० प्रतिशत काम मात्र भएको बताउनुभयो ।

प्याकेज ५ को ठेकेदार ज्वाइन्ट भेन्चरका ठेकेदार कम्पनीहरु शर्मा/युनाइटेड बिल्डर्स/दिवा हुन् । ढिलो काम गर्ने सो प्याकेजका ठेकेदारलाई १ करोड ५० लाख रुपैयाँ जरिवाना गराएको उहाँले बताउनुभयो । लक्षित समयमा निर्धारित काम पूरा नगरेकाले ठेकेदार कम्पनीलाई जरिवाना गरिएको उहाँले बताउनुभयो ।

‘३ चरणको माइलस्टोन मध्ये पहिलोनै मिट नगरेकाले जरिवाना गरिएको हो,’ उहाँले भन्नुभयो, ‘पहिलो चरणमा २५, दोश्रोमा ७५ र तेश्रो चरणमा शतप्रतिशत काम पूरा गर्ने पर्छ, अन्य प्याकेजको हकमा पनि यही नियम रहेको छ ।’ 

प्याकेज ५ को ठेक्का ८२ करोड ४५ लाख ६९ हजार १ सय १ रुपैयाँ २९ पैसामा लागेको हो । च्यानेज १६६ जोड ५६० देखि १७२ जोड ३६० सम्मको उक्त ठेक्का अन्तर्गत ५ किलोमिटर ८ सय मिटर कालोपत्रे सडक निर्माण गर्नु पर्नेछ । २०७३ असार २९ को सम्झौता अनुसार २०७६ असोज २८ सम्म काम सम्पन्न गरी सक्नु पर्ने छ ।

कर्णले यो लगायत अन्य प्याकेजको काम पनि आउँदो असार मसान्त भित्र सम्पन्न गर्नु पर्ने बताउनुभयो । साउन यता २ महिना निर्माण कम्पनीहरुले खोलानालाबाट बालुवा, क्रसर आदि नपाउँदा निर्माण कार्य प्रभावित भएपनि हाल खोला नाला खुली सकेकाले अब निर्माण कार्यले गति लिनेमा आफू आशावादी रहेको उहाँले बताउनुभयो । 


प्रतिक्रिया