श्रमिक कल्याणकारी कोषलाई एनआरएनएले दियो १ करोड ६ लाख

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ३, २०७६ | काठमाडौं

- गैरआवासीय नेपाली संघले मध्यपूर्वी  मुलुकहरुमा रहेका  नेपाली श्रमिकका लागि स्थापित श्रमिक कल्याणकारी कोषका लागि रु १ करोड ६ लाख रुपैयाँ राहत रकम दिने निर्णय गरेको छ । संघका अध्यक्ष कुमार पन्तको प्रस्तावमा संघका नव निर्वाचित पदाधिकारी एवं सदस्यको पहिलो बैठकले सो रकम दिने घोषणा गरेका हुन् । बैठकले १९ वटा एजेन्डामाथि बृहत् छलफल गरेको थियो ।

बैठकले यसअघिकै कार्यसमितिको एजेन्डालाई निरन्तरता दिँदै विभिन्न महत्वपूर्ण निर्णय समेत गरेको छ ।  बैठकले सरकारले अघि सारेको भिजिट नेपाल २०२० मा सहकार्य गर्नका लागि निवर्तमान अध्यक्ष भवन भट्टको संयोजकत्वमा समिति गठन गरेको छ । यस्तै पुर्वाधार विकासका लागि रु १० अर्बको लगानी भित्र्याउने अभियान अगाडी बढाउन अध्यक्ष कुमार पन्तको संयोजकत्वमा एक समिति बनाई १ महिनाभित्र कार्ययोजना प्रस्तुत गर्नै निर्णय गरेको महासचिव हेमराज शर्माले जानकारी दिनुभयो  । 

बैठकले ५ उपाध्यक्षहरुको नेतृत्वमा ५ विभाग (वैदेशिक रोजगार, परोपकारी तथा मावकल्याण, व्यापार तथा लगानी, सिप, ज्ञान, र नबप्रवर्तन, नेपाल प्रवर्धन) निर्माण गर्ने र बिभागमा अन्तर्रा्ष्ट्रिय समन्वय परिषद्का सदस्यहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुको रहने ब्यबस्था गरेको छ । एनआरएनए फाउण्डेसन स्थापना गरी सबै परोपकारी कार्यक्रम यसै फाउण्डेसन मार्फत एकद्वार प्रणालीबाट गर्ने निर्णय गरेको छ । एनआरएन विज्ञ सम्मेलनलाई निरन्तरता दिँदै दोश्रो विज्ञ सम्मेलन सन २०२० गर्ने निर्णय गरिएको छ । त्यस्तै संघको अगामी क्षेत्रीय सम्मेलन मध्यपूर्वमा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ ।

यसैबीच बैठकले गैरआवासीय नेपाली संघको संरक्षक परिषद्को सदस्य समेत चयन गरेको छ । परिषदमा प्रमुख संरक्षक डा. शेष घले र अन्य संरक्षकहरुमा पूर्व अध्यक्ष द्वय देवमान हिराचन र जीवा लामिछाने, निवर्तमान अध्यक्ष भवन भट्ट र पूर्व संरक्षक रामप्रताप थापा रहनु हुनेछ । बैठकले संस्थापक अध्यक्ष डा। उपेन्द्र महतोलाई संघको उच्च वरियतामा राख्ने समेत निर्णय गरेको छ ।

यसैबीच बैठकले गैरआवासीय नेपाली संघको ११ सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सो समितिमा निवर्तमान उपाध्यक्ष कुल आचार्य (यु के), सपिला राजभण्डारी (रसिया), रामेश्वर शाह (नेपाल), टी.बी कार्की (कतार), सोम सापकोटा (माल्टा), त्रिलोक गुरुङ (हङ्कङ), विश्व आदर्श पण्डित (युके), पुष्प तिमल्सिना (स्पेन), जमुना गुरुङ (अष्ट्रेलिया), एसी शेर्पा (अमेरिका), र हरिबोल भण्डारी (अमेरिका) रहेका छन् ।  

 


प्रतिक्रिया