पर्यटकलाई घलेगाउँसम्म डोर्‍याउने गीत

कार्तिक ४, २०७६ | लमजुङ

पर्यटकीय दृष्टिले चर्चित लमजुङको घलेगाउँसम्म पर्यटक डोर्‍याउने गीत निर्माण गरिएको छ । भर्खरै छायांकन सकिएको म्युजिक भिडियो एक साताभित्र सम्पादन गरेर युट्युबमा सार्वजनिक गर्ने तयारी गरिएको छ । घलेगाउँको एक युवक काठमाडौं घुमेर फर्किने बेला एक युवतीसँग एउटै सिटमा परेपछि गीत सुरु हुन्छ । काठमाडौंबाट ६ घण्टाको यात्रापछि बेंसीसहरमा खाना खाएर घलेगाउँ उक्लिन्छ । बेंसीसहर–घलेगाउँ बढीमा २ घण्टाको बाटो हो । 

करीब २१ मिनेटको गीत एक सातामा छायांकन सकेर टोली फर्केको छ । म्युजिक भिडियोलाई उनीहरुले ‘म्युजिक डकुमेन्ट्री’ भनेका छन् । यसअघि निर्माण गरिएको ‘मेरो प्यारो घलेगाउँ’ बोलको गीतमा पुरानो घलेगाउँ देखिन्छ ।

‘संसारैमा बयान चलेको, लमजुङको घलेगाउँ’ बोलको अहिलेको गीति भिडियोमा स्मार्ट भिलेजउन्मुख राताम्य टीनको छानोदेखि भ्युटावर, गोर्खा पार्क, गुरुङ जतिको अन्तिम राजा क्याल्बोरोजा क्ले पार्क, खेल मैदान, नयाँ संग्रहालय लगायत पछिल्ला समयमा निर्माण गरिएका भौतिक संरचना देख्न सकिन्छ । प्राकृतिक सौन्दर्य र लोपुन्मख कलासंस्कृति भिडियोमा छ । 

‘घलेगाउँमा जे जति छ, सवैलाई समेट्न भिडियोले पनि सकेको छैन । घलेगाउँमा यी कुराहरु छन् । अब तपाइँ यो भन्दा बढी घलेगाउँ नै आएर हेर्नुस् भन्नलाई भिडियो बनाएका हौं’ क्व्होलासोंथर गाउँपालिका अध्यक्ष समेत रहेका घलेगाउँ पर्यटन व्यवस्थापन समिति, ग्रामीण पर्यटन घलेगाउँका अध्यक्ष प्रेम घलेले भने । उनका अनुसार नेपाल भ्रमणबर्ष २०२० लाई मध्यनजर राखेर उक्त म्युजिक भिडियो बनाइएको हो ।

गणेश गुरुङ र भिमु गुरुङको आवाजमा रेकर्ड गरिएको गीतमा रचना र संगीत गणेशकै छ । एरेन्ज भने तेजेन्द्र गुरुङले गरेका छन् । म्युजिक भिडियोमा गणेशका अलावा गुरुङ फिल्मका नायक खेमराज घले, नायिका निस्ता गुरुङ र भारती घलेलगायतको अभिनय छ । मौसम हिमालीले म्युजिक भिडियोको निर्देशन गरेका छन् । पुस्कर थापाले भिडियो खिचेका छन् । म्युजिक भिडियो साँढे ५ लाख रुपैयाँमा निर्माण गरिएको पर्यटन समितिका सचिव उमलबहादुर विकले बताए ।

घलेगाउँमा अहिले ३७ घरमा होमस्टे छ । करीब २ सय जना पर्यटक यसमा अट्छ । तर, हिजोआज करीब ३ सय पर्यटक दैनिक घलेगाउँ आउने गरेका छन् । ‘सन् २०२० मा हामी ५० घरमा होमस्टे संचालन गर्छौं । ५० हजार पर्यटक भित्र्याउँछौं’ अध्यक्ष घलेले भने । उनका अनुसार २०५७ देखि घलेगाउँको १० घरमा होमस्टे संचालन सुरुवात गरिएको थियो । 


प्रतिक्रिया