नेपाली अलैंचीबारे अध्ययन गर्न बगानमा पुगे विदेशी  

कार्तिक ४, २०७६ | लमजुङ

लमजुङको अलैंचीलाई जर्मन, अष्ट्रिया र स्वीट्जरल्याण्ड लैजान त्यहाँका व्यवसायीले सम्भाव्यता अध्ययन गरेको छ । मसलाबालीको व्यवसाय प्रवद्र्धन गर्दै आएका उनीहरुले मर्स्याङदी गाउँपालिका ७, लुदीमा आएर सम्भाव्यता अध्ययन गरेको हो । यो समूहले टिमुरको लागि म्याग्दीमा सम्भाव्यता अध्ययन गरिसकेको छ ।

कफीका लागि सोलुखुम्बुमा अध्ययन गर्ने तयारी गरेको छ । उनीहरुले अलैंची बगानको अवलोकन गर्ने टिप्ने तरिका, टिपेपछि सुकाउन भट्टीसम्म लाने प्रक्रिया, सुकाउने विधि, गुणस्तर, भण्डारण लगायतको विषयमा अध्ययन गरेका छन् । व्यवसायीले फार्मिङ फर हेल्थ मार्फत उनीहरुलाई अलैंची पठाएपछि उनीहरुले सोंचेअनुसारको गुणस्तर अलैंचीले कायम गर्न सकेको र अलैंचीलाई आफ्नो देशमा लैजान सम्भाव्यता अध्ययन गरेको टोलीले बताएका छन् । 

अष्ट्रियास्थित लुफान्सा एयरलाइनसका सिनियर पाइलट समेत रहेका हेल्प अलाइनसका अध्यक्ष डोमिनिक कोप्पले अलैंची गुणस्तर भनेर आएको र हेरेर अध्ययन गर्न अलैंची फल्ने ठाउँमा आएको बताए । फार्मिङ फर हेल्थको अष्ट्रियाका अध्यक्ष प्रोफेसर कर्ट लुगरले नेपालबाट केही मसलाबाली भित्र्याउने योजनाका साथ अध्ययन थालिएको बताए । जर्मन नागरिक लुफान्सा एयरलाइनसका खाद्य व्यवस्थापक थोमस ब्रोकेनाउरले जर्मनमा भिन्दै खालको मसला बाली हुने गरेपनि अलैंची भने नहुने बताए । 

अलैंची व्यवसायी महासंघ गण्डकी प्रदेश अध्यक्ष एवं प्रधामन्त्री कृषि आधुनीकिकरण अलैंची जोन सञ्चालक समितिका अध्यक्ष अजय तामाङका अनुसार जर्मन, अष्ट्रिया र स्वीटजरल्याण्डबाट आएका आएका व्यवसायीले बिहीबार अलैंची बगानमै पुगेर अध्ययन गरेका थिए । उनीहरुले अलैंची टिपेको, ल्याएर सुकाएको, ग्रेडिङ गरेको लगायत हेरेका थिए । अलैंची खेतीबारे स्थानीयसंग अन्तरक्रिया समेत गरेका थिए ।

उहाँले भन्नुभयो, ‘लमजुङको अलैंची प्रति विदेशी कृषक र व्यवसायीको चासो बढ्न थालेको छ । अहिलेको अध्ययन विदेश लैजानको लागि हो ।’ उहाँका अनुसार यसअघि भारत, भुटान र अष्ट्रेलियाका नागरिकले लमजुङको अलैंची अध्ययन गरेका छन् । भारत र भुटानमा अलैंची खेती गरिन्छ । अष्ट्रेलियामा भने गरिँदैन । लुदी अलैंची कृषक समूहका संचालक सोमबहादुर तामाङका अनुसार गाउँका ४४ घरपरिवारले अलैंची खेती गरेका छन् । हरेकले १५ देखि २० रोपनीमा खेती गरेका छन् । कृषक समूहले पनि अलैंची खेती गरेको छ । 

फार्मिङ फर हेल्थका निर्देशक नारायण ढकालका अनुसार सुरुमा अलैंचीको स्याम्पल (नमुना) पठाइएको थियो । सम्भाव्यता गर्न ‘विजनेश लिडर’ सहित जर्मनका ८, स्वीटजरल्याण्डका ४ र अष्ट्रियाका २ नागरिक नेपाल आएका छन् । उहाँले भन्नुभयो, ‘अहिले नेपालमा आएको टोली संसारमा मसलाबालीको व्यवसाय प्रवद्र्धन गर्ने समूह हो । उनीहरुले नेपालका ३ वटा मसलाबाली लाई प्रवद्र्धन गर्न खोजेको छ ।’ लमजुङको अलैंची र म्याग्दीको टिमुरको स्थलगत अध्ययन गरिसकेको उहाँले बताउनुभयो । सोलुखुम्बुको कफी अध्ययन गर्न बाँकी छ । 

प्रधानमन्त्री कृषि आधुनीकिरण परियोजना (अलैंची जोन) कार्यालयका अनुसार लमजुङमा १ हजार २ सय हेक्टर बढी क्षेत्रफलमा अलैंची खेती गरिएको छ । ७ सय ३५ हेक्टर क्षेत्रफलमा अलैंची उत्पादन हुँदै आएको अलैंची जोन प्रमुख ईश्वरी प्रसाद नेउपानेले बताउनुभयो । कार्यालयका अनुसार गएको बर्ष ७ सय ७ सय ५० क्वीन्टल अलैंची उत्पादन भएको थियो । 


प्रतिक्रिया