कोरला नाकाबाट ७ लाख ५० हजार राजश्व संकलन

कार्तिक ४, २०७६ | म्याग्दी

मुस्ताङ्गको लोमन्थाङ्ग गाउँपालिकास्थित छोसेर भन्सार कार्यालयले आर्थिक वर्ष ०७५/०७६ मा ७ लाख ५० हजार रुपैयाँ राजश्व संकलन गरेको छ । बेनी–जोमसोम–लोमन्थाङ–कोरला सडक अन्तर्गत नेचुङ स्थित कोरला नाकाबाट नेपाल भित्रिएका विभिन्न दैनिक उपभोग्य वस्तुबाट सो मूल्य बराबरको राजश्व संकलन भएको हो ।

कार्यालयको चालू आर्थिक वर्ष १० लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको छ । ‘यो सिल बोर्डर हो । वर्षको दुई पटक सीमा क्षेत्रमा ब्यापार मेला लाग्छ, यही ब्यापार मेलाबाट आयात हुने वस्तुमा राजश्व संकलन हो ।

निकासी वस्तुमा शुन्य कर संकलन भएको छ’ नेचुङ भन्सार कार्यालयका निमित्त प्रमुख रहेका कार्यालय सहयोगी यादवराज पहाडीले भन्नुभयो, ‘हामी पनि यहाँको वातावरणमा नयाँ छौं । स्थानीय ब्यापारीलाई विस्तारै राजश्व तिर्ने बानी बसाल्दै छौं ।’ कोरला नाकादेखि १२ किलोमिटर दक्षिणपट्टी तल नेचुङ्गमा अवस्थित इलाका प्रहरी र कुरुवाको भरमा चलेको भन्सार कार्यालयले नाकासम्म निगरानी पुर्‍याउन जनशक्ति र साधनस्रोत दुवै छैन ।

कोरला भन्सार कार्यालयसँगै सुरक्षार्थ खटाईएको शसस्त्र प्रहरी सदरमुकाम जोमसोम छोड्न मानेको छैन । वर्षमा दुई पटक (जेठ–असार र भदौ–असोजमा) कोरला नाकामा हाट पनि लाग्छ, जहाँ दुवै देशका व्यापारीले आ–आफ्ना सर–सामान लगेर एक अर्कालाई बेच्ने गर्छन । यो वर्ष असोज २६–कात्तिक ५ सम्म तिब्बतको ढोङ्वासेनमा ब्यापार मेला लागिरहेको छ । यस्तै ब्यापार मेलाको वेला मुस्ताङ्ग भित्रिएका सामग्रीमा भन्साल असूली गरिएको हो । 

लोमन्थाङ्ग समेत उपल्लो मुस्ताङ्गका घर पसलहरुमा लत्ता–कपडा, खाद्यान्न, पेय पदार्थ र इलेक्ट्रोनिक, घर बनाउँदा चाहिने सिमेन्ट, काठ लगायत सवै चिनियाँ सामाग्रीको एकलौटी किनबेच हुन्छ । सामान झार्न लोमन्थाङ भन्दा अलि पर चिनियाँ गाडी नै आइपुग्छन । 

कोरला नाकामा नेपाली सुरक्षाकर्मी र सरकारी प्रतिनिधि नहुँदा त्यहाँ पुगेका आन्तरिक तथा बाहय पर्यटकलाई चिनियाँ प्रहरी र सेनाले दुर्व्यवहार गर्ने गरेका छन् । दशगजा क्षेत्रको २४ नम्बर पिलरमा पुगेर तस्बिर खिच्दा समेत चिनियाँ सुरक्षाकर्मी नेपाली भूमि पसेरै धम्क्याउने गरेका छन् । कोरला नाकाको सीमा क्षेत्रमै चिनियाँ दैनिक गस्तीमा रहेको भएपनि नेपाली सेना भने २५ किलोमिटर दक्षिणपट्टी तल लोमन्थाङ्ग छेउमा बसेको छ । 

‘चिनिया सुरक्षाकर्मीसँगको भाषाको समस्याले गर्दा सीमा नाकामा पर्यटकले असुरक्षित महसुस गर्छन । कहिलेकाहीं हामी आफैले समस्या झल्ने गरेका छौं’ इलाका प्रहरी कार्यालय नेचुङ्गका प्रहरी हवल्दार श्याम कुमार थापाले भन्नुभयो, ‘स्थानीयबाहेक एक्लैदुक्लै नाकामा पुग्नु असुरक्षित नै लाग्छ ।’

मुस्ताङ्गमा पर्ने नेपाल–चीन बीचको २४ नम्बर सीमा स्तम्भ रहेको कोरला नाकामा चीनले दशगजा छोडेर आधुनिक सूचाना प्रविधि जडित भन्सार कार्यालयका अतिरिक्त क्वारेन्टाईन, एनिमल क्वारेन्टाईन, कर्मचारी आवस गृह, प्रयोगशाला, गोदाम घर । ट्रक तथा कन्टेरन पाकिङ्ग र सुरक्षा प्रन्ध गाएतका पूर्वाधार खडा गरिरहेको छ । 

तर सीमा वारी नेपालपट्टी खाली चौर चकमन्न पल्टेको छ । संरचना निर्माणको कुनै सुरसार देखिंदैन । मुस्ताङ्गका सांसाद प्रेमप्रसाद तुलाचनका अनुसार कोरला नाकाको २४ नम्बर पिलर क्षेत्रमै नेपाली पक्षले पनि भन्सार प्रयोजनका पूर्वाधार निर्माण गर्न एक हजारबढी रोपनी जग्गा अधिग्रहण गरेको छ । यस अघि नाकाभन्दा १२ किलोमिटर दक्षिण तल नेचुङ्गमा भन्सारका लागि जग्गा अधिग्रहण गरिएकोमा अब्यवहारिक भन्दै विरोध भएपछि नाका क्षेत्रमै चिनिया भन्सारको आमने–सामने हुने गरी भन्सार बनाउने तयारी भएको छ ।

‘चिनियाँ भन्सार कार्यालयको आमने–सामने हुने गरी नेपाली भन्सार कार्यालय स्थापना गर्न जग्गा प्राप्ति भएको छ । अघिल्ला समयमा १२ किमी तल भन्सार कार्यालय स्थापना गरिएको र जग्गा लिईएकोले अहिले जग्गा प्राप्ती समस्या आएको हो’ सांसद तुलाचनले भन्नुभयो, ‘अर्थ, गृह, रक्षा र प्रधानमन्त्री सबैलाई कोरला नाकाको यथार्थ लेखेरै जानकारी गराएको छु । गृह र अर्थमन्त्रीले कोरला नाका ब्यवस्थित संञ्चालन गर्न काम भैरहेको छ ।’


प्रतिक्रिया