प्रहरीद्वारा गाँजा खेती नष्ट

कार्तिक ४, २०७६ | जाजरकोट

स्थानीयको जग्गामा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको छ । नलगाड नगरपालिका र बारेकोट गाउँपालिकामा लगाएको गाँजा खेती प्रहरीले नष्ट गरेको हो । बारेकोटको बुढा गाउँ, ध्यार गाउँ रोकाय गाउँ र नलगाडको लगायत गाउँमा पुगेर स्थानीयले लगाएको गाँजा खेती प्रहरीले फाँडेको हो ।

ईलाका प्रहरी कार्यालय दल्ली र अस्थायी प्रहरी पोष्ट लिम्साको प्रहरी टोली गाउँगाउँ पुगेर गाँजा खेती नष्ट गरेको हो । पाँचकाटीया प्रहरी चौकीले साता अघि २ रोपनी जग्गामा लगाएको गाजा नष्ट गरेको थियो । पाँचकाटीया प्रहरीले तिमिले, राङ्सी, दम्दाला, ढिमे लगायत गाउमा पनि गाजा खेती नष्ट गर्ने अभियान सञ्चालन गरेको छ ।

वर्षेनी गाँजा खेती नष्ट गर्नेगरे पनि खेती गर्ने ब्यक्तिलाई कुनै पनि कारबाही नहुँदा जिल्लामा गाँजा खेती फस्टाउने गरेको हो । गाँजाको बोटबाट चरेस बनाएर अवैध रुपमा बिक्री वितरण हुने भएकोले गाँजा खेती नष्ट गरेको प्रहरी निरीक्षक केशर कार्कीले बताउनुभयो । 

२ हजार मिटरको उचाईं आसपासका किसानले पाखोबारीमा गाँजाखेती गर्ने गरेको उहाँले बताउनुभयो । गाँजा खेती गर्नेले नै चरेस बनाउने र उक्त चरेस ब्यापारीले घरमै आएर किन्ने गरेका छन् । विभिन्न प्रहरी चौकी मार्फत अवैद्य चरेस कारोबारी रोक्न गाँजा खेती नष्ट अभियान सञ्चालन गरेको उहाँले बताउनुभयो ।

पहिलो पटक गाँजा खेती गर्नेलाई सामान्य चेतावनी पछि छाडेको र दोस्रो पटक सोही ब्यक्तिले उक्त खेती गरेमा कानूनी कारबाही गरिने उहाँले बताउनुभयो । जाजरकोटमा चरेसको कारोबारी बढ्न थालेपछि गाँजा खेती नष्ट गर्न जरुरी भएको निरीक्षक कार्कीले जानकारी दिनुभयो । जिल्लाका अन्य ठाउँमा भएको गाँजा खेती नष्ट गर्न प्रहरी टोली परिचालन गरिएको छ । 


प्रतिक्रिया