नक्कली नोटसहित काठमाडौंबाट तीन जना पक्राउ

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ४, २०७६ | काठमाडौं

काठमाडौको बौद्ध नयाँ बस्तीबाट प्रहरीले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धको टोलीले नयाँ बस्तीस्थित विपुल चोकबाट तयारी ३४ हजार नक्कली नोटसहित दोलखाको मेलुङ गाउँपालिका–७ का २८ वर्षीय राजन परियार, ३४ वर्षीय सन्तोष नेपाली र २१ वर्षीय महेन्द्र नेपालीलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट एक हजार दरका ३४ थान नक्कली नोट फेला परेको बृत्तले जनाएको छ । यस्तै नोट छाप्न प्रयोग भएको मेसिन, नोट बनाउन तयार पारिएको ठूलो सानो कागज गरी करीब २ सय ९१ थान तथा अन्य सामग्री पनि फेला परेको वृत्तका प्रमुख डीएसपी रमेश सिंहले बताउनुभयो । 

प्रहरीसँगको प्रारम्भिक बयानमा उनीहरुले ६० हजार रुपैयाँ बजारमा पुर्‍याईसकेको बताएका छन् । उनीहरुले दशैं अगाडि नै नक्कली नोटको कारोबार गरेको खुलेको छ । हजार रुपैयाँको नोट दिएर एक सयको रिचार्ज कार्ड खरिद गर्ने गरेको खुल्न आएको पनि डीएसपी सिंहले बताउनुभयो ।

उनीहरुले रोशन दवाडीको घरको दोस्रो तल्ला भाडामा लिएर नक्कली नोटको कारखाना चलाएका प्रहरीले जनाएको छ । दवाडी नेपाल प्रहरीका पूर्व प्रहरी निरीक्षक समेत भएको खुलेको छ । यसैबीच, नोटको कारोबार गर्दा सर्तक रहन प्रहरीले सबैमा अनुरोध गरेको छ । 


प्रतिक्रिया