समाजवादीबाट गजेन्द्र इस्वो मेयर उम्मेदवार घोषणा

कार्तिक ४, २०७६ | सुनसरी

समाजवादी पार्टीले सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख पदको उम्मेदवारका लागि सर्वसम्मतले गजेन्द्र इस्वोलाई उठाउने निर्णय गरेको छ । पार्टीको जिल्ला, प्रदेश तथा केन्द्रका नेता र सल्लाहकार समेतको बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रमुख पदको उम्मेदवारमा इस्वोलाई सर्वसम्मतले निर्णय गरेको हो । धरानमा समाजवादी नेकपा र कांग्रेस पछि तेश्रो शक्तिको रुपमा रहेको छ । 

समाजवादीले इस्वोको नाम सिफारिस गरेपछि कांग्रेसले समाजवादीसँग गठबन्धन गर्ने रणनीतिको ‘च्याप्टर क्लोज’ भएको समाजवादीका नगर अध्यक्ष ताजुव लिम्बुले बताउनुभयो । उहाँले धरानको उपनिर्वाचनमा कांग्रेससँग समाजवादीको गठबन्धनको सम्भावना समाप्त भएको बताउनुभयो । पार्टीको बैठकले कांग्रेससँग गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने सुझाव र दबाब दिएपछि इस्वोको नाम सर्वसम्मत गरिएको थियो । 

पार्टीको उक्त निर्णयसँगै जनअभिमत थाहा पाउनको लागि पनि एक्लै चुनाव लड्ने र सकेसम्म जित हासिल गर्न कोसिस गर्ने भन्ने राय, सुझाव आएको आधारमा पार्टीको वडा अध्यक्षहरुको संयुक्त बैठकले पनि गठबन्धन गर्न नहुने भन्दै पार्टीलाई दबाब दिएको थियो । इस्वो पूर्व एमालेका कार्यकर्ता मात्र नभएर व्रिटिस गोर्खा सैनिक संघका गेसोका केन्द्रीय सदस्य, धरानका दर्जन बढी सामाजिक संघसंस्थामा आवद्ध सक्रिय समाज सेवीका रुपमा चिनिन्छन् । 

पार्टीले सर्वसम्मत उम्मेदवार घोषणा गरेपछि उहाँले भन्नुभयो, ‘धरानमा समाजवादीको मत नेकपा र कांग्रेसको जति नभएपनि तठस्थ मत धेरै छ । सुकुम्बासी समुदायका मत पनि अत्यधिक छ । त्यस्तै गोर्खा भूपू सैनिक परिवारका मत पनि उलेख्य छ । तिनै तठस्थ मत, सुकुम्बासी र गोर्खा भूपु सैनिक परिवारका मत ६० प्रतिशतमात्र पाएं भने मलाई धरानको मेयर भएर विकास निर्माण गर्ने अवसर प्राप्त हुने छ ।’

पार्टीले निर्वाचन परिचालन समिति गठन गरेर चुनावी अभियान तीब्र बनाउन घरदैलो गर्न थालेको छ ।  


प्रतिक्रिया