कश्मिरमा गोलाबारी, भारत पाकिस्तानबीच तनाव

कार्तिक ४, २०७६

विवादास्पद कश्मिरस्थित सीमा क्षेत्रमा गोलाबारी भएपछि भारत र पाकिस्तानबीच पुन: तनाव बढेको छ । गोलाबारीलाई लिएर दुवै मुलुक आरोप प्रत्यारोपमा उत्रिएका छन् । सन् २००३ मा भएको युद्धबिराम सम्झौता भंग गरेको आरोप उनीहरुले एकअर्कालाई लगाएका छन् ।

दुवै मुलुकले जवाफी कारवाही मात्र गरेको दाबी गर्दै आफ्नो सैनिक र गैरसैनिक गरेर ठूलो क्षती भएको बताएका छन् । सीमा क्षेत्रमा हिजो गोलाबारी भएको थियो । भारतले पाकिस्तानले शुरु गरेको आक्रमणबाट एक सर्वसाधारण मारिएको र ३ जना घाइते भएको बताएको छ । त्यसपछि भारतले गरेको जवाफी कारवाहीमा ६ जना पाकिस्तानी सैनिक मारिएको र ३ वटा शिविर ध्वस्त पारेको भारतीय सेना प्रमुख विपिन रावतको दाबी छ ।

पाकिस्तानले भने भारतले युद्धबिराम भङ्ग गरेपछि पाकिस्तानले गरेको जवाफी कारवाहीमा ९ जना भारतीय सैनिक मारिएको र कयौं घाइते भएको दाबी गरेको छ । कश्मिरलाई लिएर दुई मुलुकबीच यसअघि २ पटक युद्ध भइसकेको छ भने त्यसपछि पनि द्वन्द्व जारी छ ।

यो बर्ष भने तनाव उत्कर्षमा पुगेको बीबीसीले उल्लेख गरेको छ । गत फेब्रुअरीमा कश्मिरमा ४० जना भारतीय सैनिकको ज्यान जाने गरी भएको आक्रमण इस्लामावादले गराएको भन्दै दिल्लीले पाकिस्तानी भू–भागमा हवाई कारवाही गरेयता दुई मुलुकबीच तनाव बढेको छ ।

गत अगष्टमा भारतले कश्मिरको विशेषाधिकार खोस्ने निर्णय गरेपछि पाकिस्तानले त्यसको चर्को आलोचना गर्दै आएको छ । सो कदम अवैधानिक भएको भन्दै पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अन्तर्राष्ट्रिय मञ्चहरुमा आवाज उठाउदै आउनुभएको छ । भारत र पाकिस्तान दुवैले कश्मिरमाथि पूर्ण दाबी गर्दै आएपनि आंशिक रुपमा शासन गर्दै आएका छन् । 


प्रतिक्रिया