चिलीमा सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बन्दै

कार्तिक ४, २०७६

सार्वजनिक यातायातको भाडादर वृद्धि भएको भन्दै चिलीमा सुरु भएको विरोध प्रदर्शनले हिंसात्मक रुप लिएको छ । पछिल्लो पटक लुटेराहरूले राजधानी स्यान्टिएगो नजिकैको एउटा कपडा कारखानामा आगो लगाइदिँदा ५ जनाको मृत्यु भएको छ ।

योसंगै गत शुक्रबारदेखि जारी विरोध प्रदर्शनका क्रममा ज्यान गुमाउनेको संख्या ८ पुगेको छ । गत शनिवार दुईवटा सुपरमार्केटमा भएका आक्रमणमा तीनजनाको मृत्यु भएको थियो । प्रदर्शन शुरु भएलगत्तै भाडा वृद्धि गर्ने निर्णय फिर्ता भएपनि अवस्था थप बिग्रँदै गएको हो ।

प्रदर्शनले हिंसात्मक रुप लिएपछि मुख्य सहरहरूमा कर्फ्यू लगाइएको छ । आपतकालिन अवस्था घोषणा गरिएको स्यान्टिएगोमा सबैजसो सार्वजनिक यातायात ठप्प छन् । अन्तर्राष्ट्रिय विमानस्थलबाहेकका उडानहरू रद्द भएका छन् भने बजार पसलहरू बन्द रहेको बीबीसीले जनाएको छ ।

प्रदर्शन चर्किदै गएपछि करिब ११ हजार सुरक्षाकर्मी सडकमा परिचालन गरिएको छ भने १ हजार ४ सय बढीलाई नियन्त्रणमा लिएको अधिकारीहरुले बताएका छन् । 


प्रतिक्रिया