एकै दिन साउथ अफ्रिकाको १६ विकेट झर्‍यो 

कार्तिक ४, २०७६

इण्डियाविरुद्धको टेष्ट सिरिज क्लिनस्विप हुनबाट बचाउन साउथ अफ्रिका संघर्षरत छ । तेस्रो टेष्टमा फलोअनमा परेको भ्रमणकारी टोलीले दोस्रो इनिङ्समा समेत खराब प्रदर्शन गरेको छ । तेस्रो दिनको खेलको समाप्तिमा उसले ८ विकेटको क्षतिमा १ सय ३२ रन बनाएको छ ।

साउथ अफ्रिका अझै २ सय ३ रनले पछि छ भने, ऊसँग २ विकेट मात्र बाँकी छ । एकै दिन १८ विकेट झरेपछि साउथ अफ्रिकाको इनिङ्स संकटमा परेको हो । दोस्रो इनिङ्समा जर्ज लिण्डेले २७ रन बनाए भने थिओनिस डी ब्रुएन ३० रनमा नटआउट छन् ।

साउथ अफ्रिकाको इनिङ्स धराशायी बनाउने क्रममा मोहमद सामीले ३, उमेश यादवले २ तथा रविन्द्र जडेजा र रविचन्द्रन अश्विनले समान एक विकेट लिएका छन् । 

यसअघि २ विकेटको क्षतिमा ९ रनबाट आज तेस्रो दिनको खेल थालेको साउथ अफ्रिका पहिलो इनिङ्समा १ सय ६२ रनमा अलआउट भएपछि फलोअनमा परेको थियो । इण्डियाले पहिलो इनिङ्स ९ विकेटको क्षतिमा ४ सय ९७ रनमा डिक्लियर गरेको थियो । 

साउथ अफ्रिकाका लागि जुबेर हाम्जाले सर्वाधिक ६२ रन बनाए । साउथ अफ्रिकालाई सस्तैमा समेट्न उमेश यादवले ३ तथा मोहमद सामी, रबिन्द्र जडेजा र सहबाब नदिमले समान २ विकेट लिए । 

आईसीसी विश्व टेष्ट च्याम्पियनसिप अन्तरगत साउथ अफ्रिकाविरुद्धको ३ म्याचको सिरिजमा इण्डिया २–० ले अघि छ ।    


प्रतिक्रिया