नेपाल र बंगलादेशबीचको व्यापार वार्ता आज सुरु हुँदै

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ५, २०७६ | काठमाडौं

- नेपाल र बंगलादेशबीचको द्विपक्षीय व्यापार वार्ता काठमाडौंमा आज सुरु हुँदैछ । राजधानीको एक होटलमा हुने वार्ता मुख्य गरी ट्रान्जीट र निर्यात सहजताका विषयमा केन्द्रित हुने बताइएको छ । बिहान १० बजे सुरु हुने वार्ता भोलिसम्म चल्नेछ । वार्ताका लागि उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयले बिभिन्न २३ एजेण्डा तयार पारेको छ ।

मुख्यगरी व्यापारिक ट्रान्जीट प्वाईन्ट, विद्युत व्यापार, कार्गो सवारी साधन तथा नेपाली बिद्यार्थीको भिसा प्रक्रिया सहज बनाउने विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ । त्यस्तै निर्यात प्रवद्र्धनका विषयमा पनि दुई देशका प्रतिनिधिमण्डलबीच छलफल हुने छ । वार्तामा नेपाली पक्षको नेतृत्व मन्त्रालयका सहसचिव नवराज ढकाल र बंगलादेशको नेतृत्व त्यहाँको मन्त्रालयको अतिरिक्त सचिव सरिफा खानले गर्नुहुनेछ ।

 

बैठकमा १९७६ मा नेपाल र बंगलादेशबीच भएको सम्झौता कार्यान्वयनका विषयमा पनि छलफल गर्ने नेपाली पक्षको तयारी छ । सो सम्झौता अनुसार नेपालले बंगलादेशका ४ बन्दरगाह प्रयोग गर्ने सहमति भएको थियो । अहिले नेपालले एउटा बन्दरगाहमात्र प्रयोग गर्दै आएको छ ।  

 


प्रतिक्रिया