नयाँ सरकार गठन गर्न नेतान्याहु विफल

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ५, २०७६

- इजरेलमा नयाँ सरकार गठन गर्न प्रधानमन्त्री बेन्जामिन नेतान्याहु विफल भएका छन् । सरकार बनाउने प्रयास छोडिदिने घोषणा गर्दै नेतान्याहुले आफूले गठबन्धन सरकारका लागि बारम्बार प्रयास गरेको तर त्यो अस्वीकृत भएको बताएका छन् । संसदीय चुनाव अनिर्णित भएपछि नेतान्याहुले नयाँ गठबन्धन सरकार बनाउने प्रयास छोड्न लागेको बताएका हुन् ।

इजरेलमा लामो समय सत्तामा रहेका नेतान्याहुले आफूले सरकार गठन गर्न नसकेको स्वीकार्दै सो अवसर आफ्ना प्रतिद्वन्द्वीलाई सुम्पिएका हुन् । योसँगै अब नयाँ सरकार गठनका लागि राष्ट्रपति रुबिन रिभ्लिनले  नेतान्याहुका प्रतिद्वन्द्वी ब्लु एण्ड ह्वाइट पार्टीका बेनी ग्यान्ट्सलाई सरकार निर्माणको प्रयास गर्न आह्वान गर्ने बीबीसीले उल्लेख गरेको छ ।

गत सेप्टेम्बरमा भएको मतदानमा नेतान्याहुको लिकुड पार्टी र ग्यान्ट्सको ब्लु एण्ड ह्वाइट पार्टी दुवैले स्पष्ट बहुमत प्राप्त गर्न सकेका थिएनन् । ग्यान्ट्सलाई साना दललाई साथ लिएर सरकार निर्माण गर्न २८ दिनको समय दिइने जनाइएको छ ।

तर ग्यान्ट्स पनि सरकार बनाउन विफल भए संसदले चुनाव नगराउने प्रयास स्वरुप सरकार बनाउन तेस्रो उम्मेद्वारलाई आह्वान गर्ने बताइएको छ । यो वर्षमात्रै इजरेलमा दुईपटक चुनाव भइसकेको छ । 


प्रतिक्रिया