तिहार अघि नै लाखौँको सयपत्री बिक्रि

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ६, २०७६ | धनकुटा

- धनकुटाका विभिन्न ग्रामिण क्षेत्रमा सयपत्री फूल बिक्रिबाट कृषकले मनग्य आम्दानी हात पारेका छन् । धनकुटा नगरपालिकाको खासगरी ३, ४ र ५ वडामा वैकल्पिक रुपमा व्यवसायिक फूल खेती हुँदै आएको छ । धनकुटामा हालसम्म ५० लाख बढिको फूल बिक्रि भइसकेको स्थानीय कृषकले बताए । धनकुटा ३ को निगाले, सिप्तिङ, सेउले, कागते लगायतका गाउँमा तिहार नजिकिएसँगै यतिबेला फूल खरिद गर्न कृषकको बारीमा खरिदेको तछाडमछाड नै चलेको स्थानीय जितेन्द्र राई बताउँछन् ।

कृषकलाई पहिल्यै रकम दिएपनि तिहार सुरु भएपछि खरिदेले फूल बजारमा बिक्रिका लागि लैजाने गर्छन् । धनकुटा ५ कर्मीटारका गोविन्द श्रेष्ठले एक लाख बढिको सयपत्री बिक्रि गरेका छन् । उनले आफुले उत्पादन गरेसँगै आसपासका अन्य कृषकको सयपत्री समेत खरिद गरेर धरान लगायतका बजारमा बिक्रि गर्ने बताए । सोहि गाउँका खगेन्द्र खतिवडाले आधा रोपनी क्षेत्रफलबाटै ७२ हजार आम्दानी गरे ।

 

उन्नत जातको सयपत्री खेती गरेका छन् । स्थानीय बेनु आठपहरियाले ८३ हजारको फूल बिक्रि गरेको बताइन् । नविन लिम्बुले पनि ३० हजार बढिको सयपत्री बिक्रि गरे । धनकुटा ४ ठोका गाउँका सूर्य आठपहरिया लगायतले पनि मनग्य आम्दानी हात पारेको जनाए ।

सयपत्री बिक्रि गर्न बोकेर बजार धाउनु नपर्ने भएपछि कृषकलाई सहज भएको छ । तर, खरिदेले कृषकबाट दोब्बर गुना नाफा गर्दै आएका छन् । पछिल्लो समय कतिपय कृषक स्वयम् पनि धनकुटा, धरान, इटहरी लगायतका बजारमा आफ्नै पहलमा ढुवानी गरेर बिक्रि थालेका छन् । स्थानीय कृषकले न्यूनतम ५० हजार देखि २ लाखसम्म आम्दानी गरिरहेका छन् ।     

 


प्रतिक्रिया