तिहारलाई मादल बनाउन भ्याइ नभ्याई

कार्तिक ११, २०७६ | लमजुङ

वरिपरि मादलले घेरिएका छन् । मादल बनाउन आउनेको भीड छ । ४३ वर्षीय सागर बस्नेतलाई मादल बनाउन र मर्मत गर्न भ्याइनभ्याई छ । नवलपरासीको बर्दघाटका बस्नेत ७ वर्षयता लमजुङ्को बेंसीसहरमा बसेर मादल बनाउने र मर्मत गर्ने पेशामा छन् ।

बेंसीसहर नगरपालिका ८, नारायणस्थान चोकबाट शेरा जाने ओरालोमा ‘म्युजिक पोइन्ट’ को ब्यानरमुनी उनी दिनदिनै मादल बनाउने र मर्मतमा उनको दैनिकी गुज्रिएको छ । उनलाई भाइका छोरा सन्देशले साथ दिँदैछन् । दुवै जना मादल बनाउन एकनासले व्यस्त छन् । ‘हामीलाई असार १५ लागेको छ । मादल बनाउन विसाएर कसैसँग केही छिन बोल्ने फुर्सद पनि छैन’ मादलको तुना कस्दै बस्नेतले भने, ‘तिहार मात्रै नहुँदो हो त हामी कसरी कमाएर दिन चलाउनु ।’

मादलबाट भएको आम्दानीले गुजारा चलाएको उनले बताए । तिहारको समय देउसी भैलो खेल्नेले नयाँ मादल किन्ने, खरी हाल्ने, मादल कस्ने, छाला फेर्नेको घुँइचो लागेपछि उनी बेफुर्सदिला बनेका हुन् । ‘खाना खाने समय छैन । बनाउन पाए पो खानु । बिहान ६ बजेदेखि राती ११ बजेसम्म बस्नु परेको छ’ उनले भने ।

तिहारको समय दैनिक ६/७ जना नयाँ किन्ने र त्यतिकै मात्रामा बनाउने आउँछन् । अरु समय कहिले काँही दिनमा एकजना पनि आउँदैनन् । एउटा मादलको १ हजार ५ सयदेखि ६ हजार रुपैयाँसम्म बिक्री गर्ने गरेको उनले बताए । मर्मत गरेको ८ सयदेखि १ हजार रुपैयाँ र हेरी हेरी लिने गरेको उनले बताए । ‘तिहासको समय दिनको १५/१६ हजार रुपैयाँ घटेको छैन ।

अहिले त आम्दानी राम्रै छ’ उनले भने । उनका अनुसार कार्तिकदेखि माघसम्म मादल बढी बिक्री हुने र बढी मर्मत हुने उनले बताए । ‘अहिले तिहार । मंसिरपछि गुरुङको विवाह र पुटपुटे’ उनले भने, ‘असार, साउन, भदौ त खाली खाली नै हो, बनाएर बस्ने हो ।’ उनले मादल मात्रै नभइ खैंजडी, झ्याली, ढलकी, दमाह, ढोल, ढ्याङग्रो, गिटार लगायत बनाउँदै आएका छन् ।

बस्नेत मात्रै होइन, बेंसीसहर नगरपालिका ७, त्रिवेणी टोलमा मादल पसल सञ्चालन गरी बसेका ४८ वर्षीय सन्तबहादुर मालुवालाई पनि यो समय मादल बनाउन भ्याइनभ्याई छ । बेंसीसहर नगरपालिका ३, गाउँसहरका मालुवाले ७ बर्षयता बेंसीसहरमा मादल बनाइरहेका छन् । अन्नपूर्ण मादल पसल सञ्चालन गरेको बसेका उनले खैंजडी, मुजुरा, भिन्जी, ढ्याङग्रो, धौधौ बनाउँदै आएका छन् । अन्य समय कहिलेकाहीं खाली हात बस्न बाध्य उनले भने तिहारको समय आफ्ना कान्छा ससुरा डीलबहादुर रम्तेललाई पनि काम दिलाएका छन् ।

उनलाई दैनिक १ हजार रुपैयाँ दिएर राखिएको छ । ‘तिहारको समय मादल धेरै बिक्री हुन्छ । मादल बनाउन पनि यही समय धेरै आउने गर्छन्’ उनले भने, ‘गुरुङको विहे, अर्घुं, पुटपुटेको समय मंसिरदेखि बैशाखसम्म बढी मात्रामा मादल बिक्री र मर्मत हुन्छ । उनले एउटा मादलको ४ हजार ५ सय रुपैयाँसम्म विक्री गरेको बताए ।

दिनमा ३/४ वटा नयाँ मादल बिक्री हुने गरेको र ९/१० वटा मर्मत गर्ने गरिएको उनले बताए । ‘तिहारको समय मात्रै ६०/७० हजार कमाएँ होला । अझै केही दिन त बाँकी नै छ’ उनले भने । महिनामा १५ देखि २० वटा मादल बिक्री गर्ने गरेका उनले तिहारको समय भने दोब्बर हुने बताए । 

बेंसीसहरमा म्युजिक प्वइन्ट र अन्नपूर्ण मादल पसल गरी २ वटामात्रै मादल पसल छन् । माथिल्लो क्षेत्रकाले अन्नपूर्ण र तल्लो क्षेत्रकाले म्युजिक प्वइन्ट रोज्छन् । उनीहरु यो समय मादलमा गोठी हाल्ने, मादल मोड्ने, ढाक्ने जस्ता काममा व्यस्त छन् । काठ, बाख्रा, भैंसी, गाईगोरुको छाला, अंगार, खरी लगायतका सामग्री मिसाएर उनीहरुले मादल तयार पर्ने गरेका छन् ।

मादलको ढुंग्रो बनाउने काठ राम्रो हुनुपर्ने भएकाले हिजोआज काठ खोज्न समय लाग्ने र गाह्रो हुने उनीहरु बताउँछन् । मौवा, खिर्रो, घ्वारी, मलेतो लगायत काठबाट मादलका लागि ढुंग्रो बनाउन सकिने उनीहरु बताउँछन् । उनीहरुका अनुसार मौवा र घ्वारीको काठमा मादलको स्वर राम्रो सुनिन्छ ।


प्रतिक्रिया