छवी–शिल्पाको विवाह रद्द भएन

रेडियो कान्तिपुर संवाददाता

कार्तिक १४, २०७६ | काठमाडौं

फिल्म निर्माता छवी ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवादमा उच्च अदालत पाटनले जिल्ला अदालत काठमाडौको आदेश सदर गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अनन्तराज डुम्रेको संयुक्त इजलासले जिल्ला अदालतको आदेश बदर गर्न अस्वीकार गरेको हो ।

विवाह बदर माग गर्दै निर्माता ओझा गत भदौ ३ गते बारेस मार्फत् उच्च अदालत पुगेका थिए । सो मुद्दामा अन्तिम आदेश गर्दै उच्च अदालत पाटनले जिल्लाकै निर्णय सदर गरेको हो । 

जिल्ला अदालतले उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनीहरु फरार छन् । तर शिल्पाले सर्वाेच्चमा मुद्दा दायर गरेर जिल्ला अदालतको आदेश बमोजिम पक्राउ पर्नबाट जोगिईन् । सुरुमा छवि ओझा जिल्ला अदालतमा विवाह बदरको माग गर्दै पुगेका थिए । जिल्ला अदालतले सो निवेदन दर्ता गर्न अस्वीकार गर्दै दरपीठ गरेको थियो । 

सो दरपिठविरुद्ध छवीले इजलासमा निवेदन दिएका थिए । जिल्ला अदालतले इजलासको निवेदनमा पनि सुनुवाई गर्दै दरपिठलाई सदर गरेको थियो । त्यसविरुद्ध छवि उच्च अदालत पाटन पुगेका थिए । पाटनले जिल्ला अदालतको दरपिठलाई कानुन सम्मत ठहर गरेको हो । विवाह गरेको १५ वर्षपछि निर्माता ओझाकी पहिलो श्रीमती भएको दाबी गर्दै हेमा ओझाले जिल्ला अदालत काठमाडौमा बहुविवाद मुद्दा दायर गरेकी थिइन् ।

सर्वोच्च अदालतले भदौ १ गते नायिका शिल्पालाई पक्राउ नर्गन आदेश जारी गरेको थियो । नायिका पोखरेलले आफूमाथि महिला हिंसा भएको भन्दै प्रहरी कार्यालयमा उजुरी दिएपछि यी दुईबीचको विवाद सार्वजनिक भएको थियो । 

 


प्रतिक्रिया