उपनिर्वाचनमा कांग्रेसलाई जिताउनुहोस् : सभापति देउवा

कार्तिक १६, २०७६ | तनहुँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंसिरमा हुने उपनिर्वाचनमा पार्टीलाई जिताउन कार्यकर्तालाई निर्देशन दिनु भएको छ । तनहुँमा आयोजित एक कार्यक्रममा सभापति देउवाले कांग्रेसलाई विजयी गराउन चुनावी अभियानमा होमिन कार्यकर्तालाई निर्देशन दिनु भएको हो । 

‘उपनिर्वाचनमा कांग्रेसलाई जिताउनुहोस, उहाँले भन्नुभयो, ‘कांग्रेस एक ढिक्का भएर कांग्रेसलाई जिताउनुपर्छ ।’ उपनिर्वाचिनमा एक जनाले टिकट पाउने हो । जसले टिकट पाएपनि कांग्रेसलाई एक भएर चुनाव जिताउने अभियानमा लाग्न कार्यकर्तालाई उहाँले आग्रह गर्नुभयो ।  

प्रजातन्त्र सेनानी नेपाली कांग्रेसका नेता एवम स्वर्गीय गोवर्धन शर्माको ‘मेरो जीवन यात्रा’ नामक आत्मक कथा नामक पुस्तक दमौलीमा लोकार्पण गर्दै उहाँले दुई तिहाई सरकारले जनताको पक्षमा काम गर्न नसकेको आरोप लगाउनुभयो । ‘दुई तिहाईको कम्युनिष्ट सरकार छ’, उहाँले भन्नुभयो, ‘त्यसैले सरकारसंग दुई तिहाईको दम्भ छ ।’ 

सरकारले जनतको हितमा काम नगर्ने अनि जनताले आवज उठाउँदा सरकार विरुद्ध बोल्यो भन्ने, सरकारले राम्रो काम गरे कसैले सरकारको आलोचना नगर्ने उहाँको भनाई छ । ‘सरकारको मात्र नेपाल होइन,’ उहाँले भन्नुभयो, ‘प्रतिपक्ष भनेको बैकल्पिक सरकार हो ।’

सरकारले सबैको साथ लिएर हिँड्न सक्नुपर्छ । केपी ओलीको सरकार अधिनायवादतर्फ उन्मुख भएको सभापति देउवाको आरोप छ । अहिलेको सरकारबाट नै लोकतन्त्र खतरा रहेकाले कांग्रेसले लोकतन्त्रको रक्षा गर्ने उहाँले बताउनुभयो ।

कांग्रेस रहुन्जेल लोकतन्त्र कसैले अपहरण गर्न नसक्ने भन्दै उहाँले कांग्रेसलाई उत्साह, लडाकु र जुझारु नेता कार्यकर्ताको आवश्यक रहेको बताउनुभयो । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली कांग्रेसलाई कमजोर पारेर देश र लोकतन्त्र नै कमजोर पार्ने षडयन्त्र गरिरहेको आरोप लगाउनुभयो ।

‘कांग्रेसलाई कमजोर पर्ने षडयन्त्र भइरहेको छ’, उहाँले भन्नुभयो, ‘तर, कांग्रेस यसमा सचेत छ ।’ सरकारले दुई तिहाई शक्तिको दुरुपयोग गरेर संवैधानिक निकाय, अदालत अख्तियार लगायतका संवैधानिक निकायलाई डर र त्रास देखाएर आफू अनुकूल बनाउने कार्य भइरहेकाले उहाँको आरोप छ । 

कांग्रेस महामन्त्री शंशाक कोइरालाले कांग्रेस एक जुट भएर अगाडि बढ्यो भने कसैले कांग्रेसलाई हराउन नसक्ने बताउनुभयो । ‘कांग्रेस एक जुट हुनुपर्छ’, उहाँले भन्नुभयो, ‘एक जुट भएमा कसैले कांग्रेसलाई हराउन सक्दैन ।’ 


प्रतिक्रिया