हिमाल चढेर फकिँदै गरेका पर्यटकको मृत्यु

कार्तिक १८, २०७६ | लमजुङ

मनाङको हिमलुङ हिमाल (७,१२६ मि.) चढेर फर्किंदै गरेका एक विदेशी पर्यटकको मृत्यु भएको छ । मनाङको नार्पाभूमि गाउँपालिका ४, फू क्षेत्रमा पर्ने उक्त हिमालको बेस नं. ३ (६३५० मि.) मा झर्दै गर्दा बिरामी भएका ३ जनामध्ये १ जनाको मृत्यु भएको प्रहरीले बताएको छ ।

अर्को २ जना गम्भीर बिरामी भई हेलिकप्टर मार्फत उद्दार गरी शिक्षण अस्पताल काठमाडौं लगिएको छ । मृतको शव हिमलुङ बेस क्याम्प नं. २ (६,००० मि.) नजिकै मा ल्याइपुर्‍याएको प्रहरीले बताएको छ । 

मनाङका डीएसपी टीकाबहादुर कार्कीका अनुसार स्पेनका नागरिक पासपोर्ट नं. पीएजी३००२५९ का ४४ बर्षीय फेर्नान्डो सन्चेज ग्रासाको मृत्यु भएको हो । हिमाल चढेर झर्दै गर्दा आँखाको ज्योति गुमेपछि तल झार्ने क्रममा उनको बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ । घटना शनिबार बिहानतिरको भएपनि आइतबार दिउँसोसम्म उनको आँखा नखुलेको र बिरामी अवस्थाका उनको मृत्यु भएको प्रहरीले बताएको छ ।

घटनाबारे गृह मन्त्रालयले आइतबार दिउँसोतिर खबर गरेपछि मनाङ प्रहरीले अनुसन्धान थालेको जनाएको छ । हिमाल चढेर झर्ने क्रममा संगै गएका स्पेनकै नागरिक पासपोर्ट नं. पीएआई ६७८६३७ का ५१ वर्षीय जेस डेल सेर्रोमिल्लन र पासपोर्ट नं. एएएफ ३५८०३६ का ५१ वर्षीय जुआन कारलस डेल सेर्रोमिल्लन गम्भीर बिरामी भएका थिए ।

दुवै जनाको हेलिकप्टर मार्फत आइतबार उद्दार गरिएको डीएसपी कार्कीले बताउनुभयो । उनीहरुलाई बेस क्याम्प नं. १ (५४५० मि.) भन्दा मुनी करीब ४ हजार ५ सय मिटर उचाईको बेस क्याम्पबाट उद्दार गरिएको उद्दार गरी फर्केका नार्पाभूमि गाउँपालिका ५ का अध्यक्ष सोनाम तेजे लामाले बताउनुभयो । उनीहरुलाई आइतबार दिउँसो एयर डाइनेष्टिकको हेलिकप्टरबाट उद्दार गरिएको हो ।

टोली कार्तिक ६ गते चामे नजिकै कोतोबाट फू गाउँतर्फ गएको प्रहरीको रेकर्डमा उल्लेख छ । उनीहरु इम्याजिन एनपी ट्रेकिङ एजेन्सी काठमाडौंबाट आएको प्रहरीले बताएको छ । घटनास्थल जिल्ला प्रहरी कार्यालय चामेबाट मुस्किलले ३ दिनमा पुगिन्छ ।

हिमाल आरोहण टोलीमा ३ जना स्पेनिस नागरिक र एकजना नेपाली पथ प्रदर्शक गएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मनाङका इन्सपेक्टर श्रवणकुमार विकले बताउनुभयो । घटनाको एकीन विवरण आउन अझै बाँकी रहेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया