दाङमा उपनिर्वाचनको चहलपहल सुरु

रेडियो कान्तिपुर संवाददाता

कार्तिक १८, २०७६ | दाङ

दाङमा उपनिर्वाचनको चहलपहल सुरु भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं. २ का लागि आइतबार घोराहीस्थित बार एशोसिएशनको भवनमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भैसकेको छ ।

कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरी मनोनयनपत्र वितरण समेत थालेको छ । आज राष्ट्रिय जनमुक्ती पार्टीले मनोनयनपत्र लिइसकेको छ । अन्य दलहरुले अझै लिएका छैनन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले स्वर्गीय सांसद् उत्तरकुमार वलीकी श्रीमती बिमला वलीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

२०७५ माघ १६ गते घोराही–लमही सडकखण्डको बेलदमारमा कार दुर्घटनामा परी घाइते भएका वलीको उपचारका क्रममा निधन भएको थियो । वलीको निधन भएपछि उक्त क्षेत्र खाली भएको हो । उनी तत्कालिन एमालेबाट निर्वाचित भएका थिए । बिमला श्रीमान्को मृत्युपछि राजनीतिमा सक्रिय भएकी हुन् ।

२०४१ माघ २२ मा जन्मिएकी वली नेपालगञ्ज उपमहानगरपालिका ५ गणेशपुरमा हुर्किएकी हुन् । उनले २०६५ बैशाखमा उत्तरसँग प्रेम विवाह गरेकी थिइन् । उनका दुई छोराहरु ८ वर्षीय प्रणय र ६ वर्षीय प्रतिक छन् ।

यसैगरी राष्ट्रिय जनमोर्चाले डिलाराम बुढाथोकी, साझा पार्टीले शिवकुमार चौधरी र समाजवादी पार्टीले डिल्लीबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेका छन् । काँग्रेसले भने अहिलेसम्म उम्मेदवारको नाम टुंगो लगाएको छैन । कार्तिक २१ गते मनोनयनपत्र दर्ताको मिति तोकिएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो ।

उक्त क्षेत्रमा ६८ हजार ७ सय १९ मतदाता रहेकोमा ३२ निर्वाचन स्थल र ७७ मतदान केन्द्र तोकिएको उहाँले जानकारी दिनुभयो । निर्वाचन हुने क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका चार वडाका साथै दंगिशरण गाउँपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिका पर्छन् ।

यसैगरी घोराही उपमहानगरपालिका वडानं. १६ मा पनि निर्वाचनको तयारी भएको छ । वडा अध्यक्ष लछिनप्रसाद बुढाको बिरामी भएर मृत्यु भएपछि उक्त वडा खाली भएको हो । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए । काँग्रेसले ताराबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । नेकपा लगाएत अन्य दलहरुले भने उम्मेदवार टुंगो लगााइसकेका छैनन् । वडामा ४ हजार ४ सय ५३ मतदाता छन् । जसका लागि दुई मतदान स्थल र पाँच केन्द्र निर्धारण गरिएको छ ।

पार्टीहरुले निर्वाचन लक्षित कार्यक्रमहरुमा तिव्रता दिइरहेका छन् । नेकपाले बुधबार तुलसीपुरमा कार्यकर्ता प्रशिक्षण आयोजना गरेको छ । प्रशिक्षणलाई सम्बोधन गर्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल आउने कार्यक्रम रहेको नेकपा प्रचार विभाग प्रमुख शरद अधिकारीले बताउनुभयो ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि बुधबार नै तुलसीपुरमा चुनावी सभा आयोजना गरेको जनाएको छ । सभालाई सम्बोधन गर्न अध्यक्ष कमल थापा लगाएतका केन्द्रीय नेताहरु आउन थालेको राप्रपाले जनाएको छ ।


प्रतिक्रिया