भीर मह काढ्दै गर्दा खसेर शिकारीको मृत्यु

कार्तिक १९, २०७६ | लमजुङ

लमजुङको दोर्दी गाउँपालिका ६, छोटेखोला माथिको क्लेंचे भीरमा भीरमह काढ्दै गरेका एक महशिकारीको मृत्यु भएको छ । मह काढ्दै गरेका दोर्दी गाउँपालिका ६, झुमस्वाँराका २६ वर्षीय गोरे भनिने गोपाल गुरुङ मंगलबार दिउँसो भीरबाट खसेर मृत्यु भएको प्रहरीले बताएको छ ।

मह काढ्दै गर्दा समात्दै गरेको डोरीबाट हात फुस्किँदा करीब १ सय मिटर तल खसेको र उनको मृत्यु भएको स्थानीयले बताएका छन् । 

दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेका अनुसार छोटेखोलादेखि करीब २ किलोमिटर माथि पर्ने क्लेंचे भीरमा १०/१२ जनाको टोली भीरमह काढ्न मंगलबार बिहानै गएका थिए । मह काढ्ने क्रममा प्रयोग गरिने चोयाबाट निर्मित प्रों छो (भर्‍याङे डोरी) समात्ने क्रममा हात फुस्किएपछि खसेको र उद्दार गरी उपचारका लागि ल्याउने क्रममा मृत्यु भएको खबर प्राप्त भएको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयने, ‘३/४ वटा चाका निकालेर अर्को चाका निकाल्ने क्रममा डोरीमा समात्न खोजेछ । डोरी समात्दा हात फुस्किएपछि भीरबाट खसेछ ।’ 

उक्त घटनाको पुष्टि गर्दै प्रहरीले शवको पोष्टमार्टमको लागि लमजुङ जिल्ला सामुदायिक अस्पताल ल्याएको बताएको छ । गोपालले ३ बर्षयता भीरमह काढ्दै आएका स्थानीयले बताएका छन् । उनी खसेपछि भीरमह काढ्ने सबै कार्यक्रम रद्द गरी स्थानीय फर्केका छन् । हालसम्म यस्तो घटना नघटेको र यो घटनालाई स्थानीयले नौलो रुपमा लिएका छन् ।

ग्रामीण भेगमा मह काढ्ने क्रममा सुरक्षाका लागि कुनै डोरी वा पेटी नबाँध्दा यस्ता घटनाहरु हुने सरोकारवालाले बताएका छन् ।


प्रतिक्रिया