महराले गल्ती गरेकै हुन् : दाहाल

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २०, २०७६ | दाङ

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहालले निवर्तमान सभामुख कृष्णबहादुर महराले गल्ती गरेको बताउनुभएको छ । प्रेस संगठनले आज बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै दाहालले महराले नैतिकरुपमा गल्ती गरेका कारण कानूनी रुपमा उचित कार्वाही हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

लामो सयमसम्म महराबारे सार्वजनिक रुपमा नबोलेका दाहालले आज आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो । महराले गम्भिर नैतिक गल्ती गर्दा पनि उल्टै पार्टी अध्यक्षलाई ढाँटेर झन ठूलो गल्ती गरेको उहाँले बताउनुभयो ।

महरासँग घटनाबारे जानकारी माग्दा गलत कुरा बताएको उल्लेख गर्दै दाहालले जिम्मेवार पदमा पुगेको व्यक्तीले अनैतिक काम गर्नु र पार्टी नेतृत्वलाई ढाँट्नु झन नराम्रो काम भएको बताउनुभयो ।

महराले गरेको गल्ती राष्ट्रिय रुपमा गलत दिशातर्फको भएकाले अदालतले यसमा आबश्यक न्यायिक निर्णय गर्नेमा आफूहरु आशावादी रहेको दाहालले बताउनुभयो । यस घटनाले अन्य गलत काम गर्नेहरुलाई पनि सजग गराउने धारणा दाहालले व्यक्त गर्नुभयो ।

महराले आफूले गरेको गल्ती स्विकार गर्दै कानूनी प्रक्रियामा राज्यलाई सहयोग गर्नुपर्ने बताउँदै दाहालले फेरी सच्चिएर जनताको सेवामा फर्कने आशा व्यक्त गर्नुभयो ।


प्रतिक्रिया