उपनिर्वाचनका लागि दाङमा १४ जनाको मनोनयन दर्ता

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २१, २०७६ | दाङ

आगामी मंसिरमा हुने उपनिर्वाचनका लागि दाङमा १४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर ३ ख मा हुन लागेको उपनिर्वाचनका लागि आज १४ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका हुन् ।

विभिन्न पार्टीहरुले जुलुश र झाँकी सहित मनोनयन दर्ता गराएका छन् । पार्टी र स्वतन्त्र गरी १४ जनाको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बिमला कुमारी खत्री वली र कांग्रेसबाट केशवकुमार शर्मा आचार्यको उम्मेदवारी दर्ता भएको छ ।

मनोनयन दर्ताका क्रममा नेकपा प्रदेश ईञ्चार्ज तथा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलका साथै सांसद र केन्द्र तथा जिल्लाका नेताहरु सहभागी भएका थिए । कांग्रेसका तर्फबाट केन्द्रीय सदस्य तथा पूर्व सिंचाई मन्त्री दिपक गिरीका साथै सांसद् र नेताहरुको उपस्थिति थियो ।

यसैगरी राष्ट्रिय जनमुक्ती पार्टीबाट धनराज सुनार, नेपाल मजदुर किसान पार्टीबाट सुरेश परियार, राप्रपा संयुक्तबाट छोटिलाल थारु, नेकपा मालेबाट हरिप्रसाद डाँगी, समाजवादी पार्टीबाट डिल्लीबहादुर डाँगी, राप्रपाबाट भुपाल रावत, मंगोलियन पार्टीबाट घनश्याम चौधरी, नेपाल लोकतान्त्रिक पार्टीबाट झरेन्द्रबहादुर खत्री, साझा पार्टीबाट शिवकुमार चौधरी र नेपाली काँग्रेस (बीपी) बाट दिपककुमार धितालले उम्मेदवारी दिएका छन् । स्वतन्त्रबाट गोविन्द केसी र टिकाराम आचार्यले उम्मेदवारी दर्ता गराएका छन् ।

(नेकपा) ले स्वर्गीय सांसद् उत्तरकुमार वलीकी श्रीमती बिमलालाई उम्मेदवार बनाएको हो । २०७५ माघ १६ गते घोराही–लमही सडकखण्डको बेलदमारमा कार दुर्घटनामा परी घाइते भएका वलीको उपचारका क्रममा निधन भएको थियो । वलीको निधन भएपछि उक्त क्षेत्र खाली भएको हो ।

उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए । बिमला श्रीमानको मृत्युपछि राजनीतिमा सक्रिय भएकी हुन् । उक्त क्षेत्रमा ६८ हजार ७ सय १९ मतदाता रहेकोमा ३२ निर्वाचन स्थल र ७७ मतदान केन्द्र तोकिएको मुख्य निर्वाचन अधिकृत थापाले जानकारी दिनुभयो । निर्वाचन हुने क्षेत्रमा तुलसीपुर उपमहानगरपालिकाका चार वडाका साथै दंगिशरण गाउँपालिका, बबई गाउँपालिका र शान्तिनगर गाउँपालिका पर्छन् ।


प्रतिक्रिया