पाहुना टोलीलाई पराजित गर्दै आर्मी फाइनलमा 

कार्तिक २२, २०७६ | बिर्तामोड

संघर्षपूर्ण खेलमा जित निकाल्दै विभागीय टोली त्रिभुवन आर्मी क्लब बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । 

डोमालाल राजवंशी रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनलमा पाहुना टोली आक्रामक फुटबल क्लब सिक्किम भारतलाई टाइब्रेकरमा ४–३ गोलले पराजित गर्दै आर्मी उपाधि नजिक पुगेको हो । निर्धारित सयम गोलरहित बराबरीमा सकिएपछि नजिताको लागि टाइब्रेकर खेलाइएको थियो । टाइब्रेकरमा सिक्किम ‘नअलक्की’ भएपछि आर्मीको पक्षमा नतिजा आएको हो । 

टाइब्रेकरमा आर्मीका दीपक गुरुङ, विकास तामाङ, राजिव गुरुङ र विवेक बस्नेतको प्रहार गोल भएको थियो । पहिलो पेनाल्टी सुटआउट गरेका कप्तान टेकबहादुर बुढाथोकीको प्रहार सिक्किमका गोलकिपर मनोज प्रधानले रोकेका थिए ।

सिक्किमका मनोज कच्भा, वीरेन प्रधान र करण राईको प्रहार मात्र गोल भएको थियो । उसका विकास क्षेत्रको प्रहार गोलपोस्टमा लागेर फर्किएको थियो भने एन्थोनी क्षेत्रीको प्रहार आर्मीका गोलकिपर विवस चौधरीले रोकेका थिए । 

खेलमा आर्मीका गोलकिपर विवस चौधरी म्यान अफ दी म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । गोल्डकपको अन्तिम सेमिफाइनलमा शनिबार नेपाल पुलिस क्लब र चर्च ब्वाइज युनाइटेडबीच खेल हुनेछ ।

कार्तिक १६ देखि सुरु भएको गोल्डकपको फाइनल २५ गते हुनेछ । गोल्डकपको उपाधि विजेताले नगद १२ लाख ५० हजार तथा उपविजेताले नगद ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गोल्डकपमा दुई भारतीय सहित १० टिमको सहभागीता थियो । 


प्रतिक्रिया