चर्च ब्वाइजसँग पुलिस स्तब्ध

कार्तिक २३, २०७६ | बिर्तामोड

झापाको बिर्तामोडमा जारी अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप फुटबलको उपाधिको लागि त्रिभुवन आर्मी क्लब र चर्च ब्वाइज युनाइटेडबीच फाइनल भिडन्त हुने भएको छ । शनिबारको अन्तिम सेमिफाइनलम विभागीय टोली नेपाल पुलिस क्लबलाई पराजित गर्दै चर्च ब्वाइज गोल्डकपको फाइनलमा पुगेको छ ।

डोमालाल राजवंशी रंगशालामा चर्च ब्वाइजले पुलिसलाई १–० गोलले स्तब्ध बनाएको हो । चर्च ब्वाइजको जितमा सुनिल खड्काले निर्णायक गोल गरेका थिए । २६ औं मिनेटमा उमेश राईले मिलाइदिएको पासमा सुनिलले सुन्दर गोल गरेका हुन् ।

खेलमा अग्रता लिने अवसर पुलिसले गुमाएको थियो । २४ औं मिनेटमा चर्च ब्वाइजका डिफेण्डरले बक्सभित्र पुलिसका सुमन लामालाई लडाएपछि पुलिसले पेनाल्टी प्रहारको अवसर पाएको थियो । 

सुमनले नै प्रहार गरेको पेनाल्टी बललाई चर्च ब्वाइजका गोलकिपर विनय श्रेष्ठले उत्कृष्ट बचाउ गरेका थिए । खेलमा निर्णायक गोल गरेका चर्च ब्वाइजका सुनिल खड्का म्यान अफ द म्याच घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

गोल्डकपको फाइनल खेल सोमबार हुनेछ । कार्तिक १६ देखि सुरु भएको गोल्डकपको विजेताले नगद १२ लाख ५० हजार तथा उपविजेताले नगद ६ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।  


प्रतिक्रिया