१२ लाख रुपैयाँ बराबरको पटका बरामद

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २५, २०७६ |  चितवन

तिहारका लागि भारतबाट अवैद्य रुपमा नेपाल भित्र्याइएका मध्ये चितवन प्रहरीले बरामद गरेका पटकाहरु सोमबार बिहान नष्ट गरेका छन् । 

विष्फोटक पदार्थको कारोबार कानूनले बन्देज लगाएको हुँदा पटका बेच्न र पड्काउन पनि नपाइने चितवन जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक डीएसपी एकनारायण कोइरालाले बताउनुभयो । तर, यो पटक चितवनमा अघिल्ला वर्षहरुको तुलनामा धेरै पटकाहरु पड्केका थिए । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक एसपी दानबहादुर मल्लका अनुसार विभिन्न ठाउँमा सरक्षा जाँच गरेर करीब १२ लाख रुपैयाँ बराबरको पटकाहरु बरामद भएको थियो । प्रहरीले कडाइ गरेका कारण पटकाको खुला बिक्री नभएको उहाँले बताउनुभयो । 

एसपी मल्लले भन्नुभयो, ‘भारतीय सेनामा कार्यरत भूपु वा बहालवाला सेना कर्मचारीहरुले आफ्ना समानहरु विशेष खालको बाक्सामा ल्याउने गरेका हुन्छन् । त्यस्ता बाक्साहरुमा उनीहरुको नाम र नम्बर पनि हुन्छ । खासै खानतलासी पनि हुँदैन ।’ पटका ल्याउनेहरुले त्यस्तै बाक्सा र नम्बर प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ ।

विशेष सुराकीका आधारमा आकस्मिक चेक जाँच हुँदा बाक्साभित्र पटकाहरु भेटिएको उहाँले बताउनुभयो । प्रहरीले पटका ल्याउनेहरुलाई भने समाउन सकेको छैन । बाक्सामा उल्लेख भएको नाम नम्बरहरु फर्जी भएको पनि अनुशन्धानबाट खुलेको एसपी मल्लले बताउनुभयो । 


प्रतिक्रिया