कांग्रेस महाधिवेशन प्रतिनिधिको भेला हेटौंडामा

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २५, २०७६ | हेटौंडा

नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिहरुको भेला तथा प्रशिक्षण हेटौंडामा हुने भएको छ । प्रदेश ३ अन्तर्गत ६ वटा जिल्लाका महाधिवेशन प्रतिनिधिहरुको भेला मंगलबार र बुधबार हेटौंडामा हुने भएको हो ।

भेलाको उद्घाटन पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने नेपाली कांग्रेस मकवानपुर सभापति तथा प्रदेश नम्बर ३ का संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो । बानियाँका अनुसार नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवम् नेपाली कांग्रेस मकवानपुरको संयोजनमा भेला तथा प्रशिक्षण हेटौंडामा हुन लागेको हो । यसअघि सात जिल्लाका भेला भक्तपुरमा सम्पन्न भइसकेको छ ।

भेलाको उद्घाटनमा देउवासँगै वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रतिष्ठानका प्रमुख एवं पार्टी उपसभापति विमलेन्द्र निधी, महामन्त्री डा.शशांक कोइराला लगायतका नेताहरु समेत हेटौंडा आउने बताएको छ । हेटौंडामा दुई दिनसम्म सञ्चालन हुने प्रशिक्षणको सम्पूर्ण तयारी सम्पन्न भइसकेको र महाधिवेशन प्रतिनिधिहर हेटौंडा आउने क्रम सुरु भइसकेको सोमबार हेटौंडामा आयोजित पत्रकार सम्मेलनमा नेपाली कांग्रेस मकवानपुरले जनाएको छ ।

भेला तथा प्रशिक्षणमा ३ नम्बर प्रदेशअ न्तर्गतका ६ जिल्लाका महाधिवेशन प्रतिनिधि र प्रदेशका केन्द्रीय सदस्यहरुको सहभागिता रहनेछ । प्रशिक्षणमा मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा र सिन्धुलीका दुईसय ९० जना महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्यहरुको सहभागिता रहने जनाइएको छ ।

सहभागीलाई प्रतिष्ठानका प्रमुख निधी, प्रतिष्ठानका सदस्य एवम् राष्ट्रिय योजना अयोगका पूर्वउपाध्यक्षहरु डा. गोविन्द पोखरेल, डा.जगदिशचन्द्र पोखरेल, प्रशिक्षण विभागका कार्यकारी निर्देशक पुरुषोतम दाहाल, प्रतिष्ठानका सदस्यहरु डा. आरजु देउवा,  खिला दाहाल र राजु नेपालले सहजीकरण गर्ने जनाइएको छ ।

नेपाली राजनीतिक वर्तमान अवस्थाबारे चर्चा गर्नुका साथै प्रतिपक्षी दलले खेल्नुपर्ने भूमिकाबारे केन्द्रीय पदाधिकारी सहितको उपस्थितिमा छलफल हुनेछ । नेपाली कांग्रेसका नेता बानियाँले दुई तिहाई नेतृत्वको सरकार ठिकढंगले अगाडि बढेको छ वा छैन भन्ने विषयको समीक्षा भेला तथा प्रशिक्षणमा हुने बताउनुभयो । 


प्रतिक्रिया