सोलुखुम्बुको पत्तालेबाट एभरेष्ट ट्रेल रेस सुरु

कार्तिक २५, २०७६ | सोलुखुम्बु

संसारकै उत्कृष्ट १० साहसिक ट्रेल रेस मध्यको ‘एभरेष्ट ट्रेल रेस’ को नवौँ संस्करण सोलुखुम्बुबाट आज सुरु भएको छ । सन् २०११ देखि निरन्तर दोलखाको जिरिबाट रेस सुरु हुने गरेको थियो । यसवर्ष सुरु हुने स्थान परिवर्तन गरी सोलुको दूधकुण्ड नगरपालिका–८ पत्तालेबाट सुरु गरिएको हो ।

नेपालका तीन धावक सहित १३ राष्ट्रका ४३ धावकहरु ट्रेल रेसमा सहभागी छन् । रेसमा नेपाली धावकहरु सुमन कुलुङ, पासाङ शेर्पा र कृष्णकुमारी भुजेल सहभागी छन् । त्यसैगरी स्पेन, अर्जेन्टिना, फ्रान्स, दक्षिण अफ्रिका, मेक्सिको, बेल्जियम, बेलायत, ब्राजिल, अल्जेरिया, नर्वे र भियतनामका धावकहरु सहभागी छन् ।

दोलखाको जिरिदेखि दौडिने रुटमा जथाभावी सडक खनिएपछि सोलुको पत्तालेबाट रेस सुरु गरिएको आयोजक संस्था अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपीडिशन प्रालिका कार्यकारी निर्देशक कामी शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार गौरीशंकर संरक्षण क्षेत्रमा दुई किलोमिटर यात्रा गर्दा एक जना बराबर तीन हजार रुपैयाँ तिर्नुपर्ने अवस्था भएकोले पनि गन्तव्य परिवर्तन गरिएको हो । 

रेस पत्तालेबाट सुरु भएर एक सातामा च्याङसार, खोरिया, दिम्स्यास, पिके डाँडा, लाम्जुरा, जुनबेंसी, फुङमोचे, तोङगीनासा, टाक्सिन्दु, यावागोन्पा, जुभिङफेदी, खरिखोला, नाम्चे, खुम्जुङ, फोर्चे, पाङबोचे, त्याङबोचे हुँदै लुक्लामा आएर समापन हुनेछ । कुल १ सय ७५ किलोमिटर दूरीको रेसमा समुन्द्री सतहदेखि ४ हजार मिटर भन्दा माथि सम्म धावकहरु दौडिने छन् । 


प्रतिक्रिया