डा. केसीलाई उपचारका लागि काठमाडौं ल्याउन गएको हेलिकप्टर रित्तै फर्कियो

कार्तिक २५, २०७६ | डडेलधुरा

चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राख्दै डडेलधुरामा अनशनरत प्रा.डा.गोविन्द केसीलाई उपचारका लागि काठमाडौं ल्याउन गएको हेलिकप्टर रित्तै फर्किएको छ । डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेको भन्दै जर्बजस्ती हेलिकप्टरमा काठमाडौं लैजान खोजेको आरोपमा स्थानीयले प्रदर्शन गरेपछि हेलिकप्टर खाली फर्किएको हो ।

स्थानीय उद्योग वाणिज्य संघ, निर्माण व्यवसायी संघ लगायतका संस्थाले विरोध प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । डडेल्धुरा अस्पतालले हिजो विज्ञप्ति जारी गर्दै डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको जानकारी दिएपछि उहाँलाई अनशनस्थल छोडाउन प्रशासनले ब्यापक सुरक्षाकर्मी परिचालन गरेको थियो ।

आज बिहानैदेखि अस्पतालमा पुगेर अनशन छोडाउन र काठमाडौं लैजानका लागि सुरक्षाकर्मीले दबाब दिएपनि डा. केसीले डडेल्धुरा नछोड्ने अडान लिनुभएको थियो । 

डा. केसीका समर्थकले पनि उहाँलाई स्थानान्तरण नगर्न आग्रह गर्दै आएका छन् । डाक्टर केसीको समर्थनमा डडेलधुरा बजार क्षेत्रमा प्रदर्शनका साथै बजार पनि बन्द गरिएको थियो । स्थानीयले टायर बालेर प्रदर्शन गरेका थिए ।

चिकित्सकका अनुसार केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको छ । डडेल्धुरा अस्पतालले डा.केसीको स्वास्थ्य अवस्था गम्भीर रहेको भनी सुरक्षित स्थानमा पठाउन आग्रह गरिसकेको छ । हिजो र अस्तीको तुलनामा आज डा. केसीको स्वास्थ्यमा थप समस्या देखिन सुरु भएको अस्पतालका प्रमुख डा. जितेन्द्र काडेलले बताउनुभयो ।

चिसोका कारण डा.केसीको स्वास्थ्य झन प्रतिकूल हुन सक्ने उहाँले बताउनुभयो । गत सोमबारबाट अनसन बस्नुभएका डा.केसीका स्वास्थ्यमा समस्या आएपछि गत शुक्रबार अस्पताल भर्ना गरिएको हो ।  

 


प्रतिक्रिया