अफगानिस्तानविरुद्धको वन डे सिरिज वेष्ट ईण्डिजद्वारा क्लिनस्वीप

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २६, २०७६

- अफगानिस्तानविरुद्धको तीन म्याचको वन डे सिरिज वेष्ट इण्डिजले क्लिन स्विप गरेको छ । भारतको लखनउमा हिजो भएको तेस्रो तथा अन्तिम खेलमा ५ विकेटको जित निकाल्दै वेष्ट इण्डिजले ३ –० ले क्लिन स्विप गरेको हो । अफगानिस्तानले दिएको २ सय ५० रनको लक्ष्य वेष्ट इण्डिजले ५ विकेटको क्षतिमा ८ बल अगावै भट्टायो । वेष्ट इण्डिजको लागि साई होपले १ सय ९ रनको शतकीय पारी खेले ।

यस्तै रोस्टन लामरले अविजित ४२, ब्राण्डन किङले ३९ तथा कप्तान केइरन पोलार्डले ३२ रन बनाए । अफगानिस्तानका मुजिब उर रहमानले २ विकेट, सराफुद्धिन असरफ, मोहम्मद नाबी र रसिद खानले समान एक एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४९ रन बनाएको थियो ।

अफगानिस्तानका लागि कप्तान अस्घर अफगानले ८६ रनको इनिङ्स खेले । यस्तै मोहमद नाबी र हजरतउल्लाह जाजईले  समान ५० रन बनाए । सिरिजको पहिलो खेलमा वेष्ट इण्डिजले ७ विकेटको जित दर्ता गरेको थियो । त्यस्तै दोस्रो खेलमा उसले अफगानिस्तानलाई ४७ रनले माथ दिएको थियो । 

 


प्रतिक्रिया