अब १३ औं सागलाई कसरी सम्पन्न गर्ने भन्ने मात्र हो, पछाडि फर्किने अवस्था छैन :जीवनराम श्रेष्ठ

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २७, २०७६ | काठमाडौं

The Headliners | Journalist Pawan | 13 November 2019 | 27 Kartik 2076

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले १३ औं दक्षिण एशियाली खेलकूद साग सुनिश्चित भइसकेकाले अब त्यसलाई कसरी सम्पन्न गर्ने भन्नेमा मात्रै ध्यान केन्द्रित गर्नुपर्ने बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम दी हेडलाइनर्समा कुरा गर्दै उहाँले तयारी केही सुस्त जस्तो देखिए पनि प्रतियोगिता सम्पन्न गर्नुको बिकल्प नभएको स्पष्ट पार्नुभयो ।

दक्षिण एशियाली ओलम्पिक काउन्सिलका अध्यक्ष समेत रहेका श्रेष्ठले सागका लागि शहरहरु सिंगार्ने काम, जनसहभागिता व्यापक गर्ने काम र खेल सामग्री समयमै उपलब्ध गराउन खेलकुद मन्त्रालय चुके पनि त्यसले प्रतियोगितामै असर नपुर्‍याउने दावी गर्नुभयो । १२ औं सागको समापनका बेलामा आयोजक झण्डा लिएर आएपछि तयारी थालेको भए भव्यताका साथ प्रतियोगिता सम्पन्न हुने उहाँको कथन थियो । त्यसयता मुलुकले ४ वटा खेलकुद मन्त्री बेहोरिसकेको फेहरिस्त प्रस्तुत गर्दै श्रेष्ठले राष्ट्रको इज्जत र प्रतिष्ठासँग साग जोडिएकाले त्यसलाई जसरी पनि सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो । नेपालको लक्ष्य सागमा दोस्रो स्थान हासिल गर्नु रहेको पनि उहाँले सुनाउनुभयो ।

रेडियो कान्तिपुरको सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग युट्युबमा जोडिनुहोस् :

 

 


प्रतिक्रिया