घोराही १६ मा ७ जनाको उम्मेदवारी दर्ता

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २७, २०७६ | दाङ

आगामी मंसिर १४ मा हुने उपनिर्वाचनका लागि दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ को अध्यक्षमा आज पाँच राजनीतिक दल र दुई स्वतन्त्र गरी सात जनाको उम्मेदवारी दर्ता भएको छ ।  

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट सुरेशबहादुर केसी र नेपाली काँग्रेसबाट ताराबहादुर डिसीको उम्मेदवारी दर्ता भएको छ । नेकपाबाट जगलाल चौधरीको बागी उम्मेदवारी दर्ता भएको छ । यसैगरी राप्रपाबाट प्रकाश केसी, समाजवादीबाट बिमला पुन, नेशनल मंगोलबाट पहलमान आले मगर र स्वतन्त्रबाट समिर वलीको उम्मेदवारी परेको छ ।

वडा अध्यक्ष लछिनप्रसाद बुढाको बिरामी भएर मृत्यु भएपछि उक्त वडा खाली भएको हो । उनी तत्कालीन एमालेबाट निर्वाचित भएका थिए । बुढाकी श्रीमती लालमती बुढालाई उम्मेद्वार नबनाएको भन्दै उनका परिवार र समर्थकहरुले नेकपाका स्थानीय नेता जगलाल चौधरीलाई उम्मेदवार बनाएका हुन् ।

चौधरी मगर र थारु समुदायको उल्लेख्य सहभागितामा बाजागाजा सहित उम्मेदवारी दर्ता गर्न गएका थिए । अन्य राजनीतिक दलहरुले पनि बाजागाजा र झाँकीसहित उम्मेदवारी दर्ता गरेका थिए । वडामा ४ हजार ४ सय ५३ मतदाता छन् । जसका लागि दुई मतदान स्थल र पाँच केन्द्र निर्धारण गरिएको छ ।


प्रतिक्रिया