लमजुङमा नेकपा र कांग्रेस लगायत ५ जनाको उम्मेदवारी

कार्तिक २७, २०७६ | लमजुङ

मंसिर १४ मा हुने उपनिर्वाचनमा लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाअध्यक्ष पदका लागि ५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । सुन्दरबजार नगरपालिकाको कृषि शाखाको कार्यालयमा स्थापना गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ४ राजनीतिक दलका प्रतिनिधि र एकजना स्वतन्त्रले बुधबार उम्मेदवारी दर्ता गराए ।

स्थानीय तह साथै प्रदेश तथा संघको चुनावमा कांग्रेसबाट बागी उम्मेदवारी दिएका समूहले स्वतन्त्रबाट उम्मेदवारी दिएका छन् । बाजागाजासहित नेकपाका नवीनकुमार श्रेष्ठ, कांग्रेसका प्रकाश सेढाइँ, राप्रपाका पवनराज बसौला, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रामजी दर्जी र कांग्रेसबाट छुट्टिएर बनेको स्वतन्त्र समूहका कृष्णबहादुर केसीले मनोनयन दर्ता गरे ।

केसीले कांग्रेस जिल्ला विशेष अधिवेशन समितिका तर्फबाट मनोनयन दर्ता गराएको जिल्ला संयोजक द्धारिकाप्रसाद मिश्रले बताउनुभयो ।  

स्थानीय तह चुनावमा सुन्दरबजार नगरपालिका २ बाट वडाअध्यक्ष पदमा निर्वाचित तत्कालीन एमालेका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि खाली रहेको उक्त वडामा अध्यक्ष पदका लागि चुनाव हुन लागेको हो । स्थानीय तह चुनावमा तत्कालीन एमालेका पाण्डेले ९ सय ५ मत ल्याएर वडाअध्यक्षमा विजयी भएका थिए ।

निकटत्तम प्रतिद्वन्द्वी कांग्रेसका पर्शुराम केसीले ३ सय ४७ मत ल्याएका थिए । माओवादी केन्द्रका उम्मेदबार पूर्णबहादुर मौरतीले १ सय ६ मत ल्याएका थिए । राप्रपाका दीपकराज सेढाइँले ५२ मत पाएका थिए । कूल १ हजार ४ सय ९२ मत खसेको थियो । ८२ मत बदर भएको थियो । अहिले उक्त वडामा २ हजार २ सय ९७ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।


प्रतिक्रिया