सुरक्षा संवेदनशीलताका कारण हङकङमा शैक्षिक संस्था बन्द 

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २८, २०७६ | काठमाडौं

- हङकङमा सरकारविरोधी प्रदर्शन चर्कदै गएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सम्पूर्ण शैक्षिक संस्था बन्द गरिएका छन् । त्यहाँस्थित शिक्षा ब्यूरोले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै किन्डरगार्टेनसहितका सम्पूर्ण शैक्षिक संस्था बन्द गर्ने घोषणा गरेको हो ।  हङकङका मुख्य व्यापारिक केन्द्रसहित विद्यालय तथा विश्वविद्यालयमा समेत प्रदर्शनकारी र प्रहरीबीच भिडन्त हुन थालेपछि सुरक्षा चिन्ता बढेको हो ।

यसअघि गत मंगलबार पनि दर्जनौँ स्थानीय र अन्तर्राष्ट्रिय विद्यालयहरूले शैक्षिक संस्था बन्द गरेका थिए । सामान्यत: सप्ताहन्तमा सीमित हुने प्रदर्शनहरू अहिले प्रत्येक दिनजसो हुन थालेका छन्  ।

यसअघि हङकङ प्रहरीले विरोध प्रदर्शन नियन्त्रण बाहिर गएको भन्दै हङकङको कानुनी शासन पूर्ण रूपमा ध्वस्त हुने अवस्थामा धकेलिएको चेतावनी दिएको थियो । हङकङ सरकारले ल्याएको विवादास्पद सुपुर्दगी विधेयकको विरोधमा गत जुन यता जारी प्रदर्शन पछिल्ला दिनमा लोकतन्त्रका विभिन्न मुद्दामा केन्द्रित छ । 

 


प्रतिक्रिया