एभीसी सेन्ट्रल जोन महिला भलिबल : नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दै

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २८, २०७६ | काठमाडौं

- बंगलादेशमा जारी एसियन भलिबल कन्फेडेरेशन एभीसी सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको उपाधिका लागि नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित सहिद सुहारावर्दी ईन्डोर हलमा नेपाली समयानुसार दिउँसो पौने ३ बजे नेपाल र माल्दिभ्सबीचको उपाधि भिडन्त सुरु हुनेछ ।

समुह चरणमा अपराजित रहँदै फाइनल पुगेको नेपालले अन्तिम खेलमा हिजो माल्दिभ्सविरुद्ध नै सोझो सेटको जित निकालेको थियो । उपाधिको मुख्य दाबेदार टोली नेपाल, पहिलो संस्करणकै उपाधि जित्ने योजनामा आज मैदान उत्रनेछ ।

पछिल्लो भेटमा पनि सहज जित निकालेकाले नेपाली महिला टोली सोही लय कायम राख्दै माल्दिभ्सलाई हराएर उपाधि जित्न चाहान्छ । माल्दिभ्सलाई भने समुह चरणमा भोगेको हारको बदला लिँदै उपाधि हात पार्ने अवसर पनि रहेको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, माल्दिभ्स, अफगानिस्तान र किर्गिस्तान गरी ५ टोलीले सहभागिता जनाएका छन् । 

 


प्रतिक्रिया