रुप ज्योति विरुद्धको ठगी मुद्दा मिलापत्रमा टुंगिने

कार्तिक २८, २०७६ | काठमाडौं

हाउजिङ्गका नाममा ठगी गरेको भन्दै चर्चित व्यवसायी रुप ज्योतिविरुद्ध दायर मुद्दामा अब मिलापत्र हुने भएको छ । रुप ज्योतिबाट ठगीएको भन्दै उजुरी दिएका उजुरीकर्ताले जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौमा आफूले बुझाएको बैना रकम फिर्ता पाएको भन्दै आज निवेदन दिएका छन् ।

घर बनाउने बैना लिएर आफूलाई घर नदिई ल्यान्डमार्क डेभलपर्स प्रालिले ठगी गरेको भन्दै रुपज्योति परिवार विरुद्द काठमाडौं प्रहरीमा गत वर्षको मंसिर १६ गते विज्ञेन्द्रकृष्ण मल्लले जाहेरी दिएका थिए ।

मल्लले सरकारी वकिलको कार्यालयमा बुझाएको निवेदनमा जग्गा बैना बापतको १ करोड ३६ लाख रुपैयाँ फिर्ता पाएको उल्लेख छ । योसंगै अब रूप ज्योति लगायत उनको परिवार विरुद्ध दर्ता भएको ठगीको जाहेरी ‘मुद्दा नचल्ने’ गरी टुंगिने छ । 

तर, यसका लागि जिल्ला सरकारी वकिलको कार्यालयले गर्ने निर्णय उच्च सरकारी वकिलको कार्यालय हुँदै महान्यायाधिवक्ता सम्म पुगेर सदर हुनुपर्छ । दुबै पक्ष मिलापत्रमा सहमत भएपछि प्रहरीले ठगी मुद्दा नचलाउने राय सहित जिल्ला सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने छ ।

ठगी, बैंकिङ कसुर मुद्दा अनुसन्धान चलिरहेको अवस्थामा पीडित पक्षले क्षतिपूर्ति पाए मिलापत्र मार्फत मुद्दा नचल्ने निर्णय गर्न सकिने कानूनी व्यवस्था छ । काठमाडौं प्रहरीले रुप ज्योति र उनको छोरी सुरुचीलाई कार्तिक २१ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो ।

मुलुकको ठूलो व्यवसायिक घराना ज्योति समूहले ल्यान्डमार्क डेभलपर्स प्रालि दर्ता गरेर हाउजिङमा पनि हात हालेको थियो । सोही कम्पनीका नाममा आफू ठगीएको जाहेरीकर्ताको दाबी थियो । 


प्रतिक्रिया