निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिने

रेडियो कान्तिपुर संवाददाता

कार्तिक २८, २०७६ | काठमाडौं

निजामती कर्मचारीको सेवा अवधि दुई वर्ष थपिने भएको छ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको छलफलमा अवकाशको उमेर ५८ बाट बढाएर ६० वर्ष राख्नेमा सांसदहरु एक भएका हुन् ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकले यो प्रावधान हरेक वर्ष ६/६ महिना थपिने र ऐन कार्यान्वयनमा आएको ४ वर्षपछि मात्र पूर्ण रुपमा लागू हुने निर्णय गरेको संघीय संसद सचिवालयका उप–सचिव सञ्जय दाहालले बताउनुभयो । 

संघीय निजामती सेवा विधेयक संसदबाट पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐनको रुपमा कार्यान्वयनमा आउने छ । उमेरहद वृद्धि गर्दा राज्यलाई निवृत्तिभरणको खर्च कम हुने विश्वास गरिएको छ । सहमति अनुसार २०१८ साल जन्ममिति भएका कर्मचारीले अब ६८ वर्ष ६ महिना उमेर पूरा भएपछि मात्र अवकास पाउनेछन् ।

यस्तै २०१९ सालमा जन्मिएका कर्मचारीहरुले ५९ वर्षमा अनिवार्य अवकास पाउनेछन् । २०२० सालमा जन्मिएका कर्मचारीको हकमा अवकासको अवधि ५९ वर्ष ६ महिना हुनेछ । भने, २०२१ सालमा जन्मिएका कर्मचारीहरुले ६० वर्ष उमेर पूरा भएपछि अवकास पाउने छन् ।   

यसैबीच, सरकारी कामको सिलसिलामा द्वन्द्व वा कुनै प्रकोपमा परेर मृत्यु हुने कर्मचारीको परिवारलाई क्षतिपूर्ति स्वरुप १० लाख नगद दिने सहमति समितिको बैठकमा भएको छ । सरकारी काममा खटिएको बेला बाहेक अन्य जुनसुकै कारणले मृत्यु भएमा निजको परिवारले ५ लाख नगद पाउने छन् ।

यसअघि यस्तो व्यवस्था निजामती सेवा नियमावलीमा थियो । तर, अहिले संघीय निजामती सेवा ऐनमै यो व्यवस्था राख्ने सहमति भएको संघीय संसद सचिवालयका उपसचिव दाहाल बताउनुभयो । यस्तै, विधेयकमा बहु विवाह गर्ने कर्मचारीले भने पेन्सन सुविधा नपाउने सहमति पनि आजको बैठकमा भएको छ ।  


प्रतिक्रिया